Aamsanchar

पाकिस्तानमा अमेरिका विरोधी प्रदर्शनका क्रममा २० जनाको मृत्यु, सयभन्दा बढी घाइते

Author Image
सोमवार, फागुन १८, २०८२

काठमाडौंः पाकिस्तानमा आईतवार अमेरिका विरोधी प्रदर्शनका क्रममा २० जनाको मृत्यु भएको छ भने अन्य सयभन्दा बढी घाइते भएका छन्।

अमेरिकाको बिरोधमा कराचीमा प्रदर्शनकारीहरु अमेरिकी बाणिज्य दूतावास परिसरभित्र प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको थियो। प्रदर्शनकारीलाई दूतावास परिसरभित्र प्रवेश गर्नबाट रोक्ने क्रममा रेस्क्यू ११२२ सिन्धले कारबाही गरेको थियो। सिन्धका प्रवक्ता हसन उल हसीवले घाइतेहरुलाई नजिकैका अस्पतालमा पुराइएको जानकारी दिँदै धेरैको अवस्था गम्भीर रहेको बताएका छन्।

अमेरिकी दुतावास इस्लामाबादले विज्ञप्ति जारी गर्दै कराची र लाहोरका वाणिज्य दुतावासहरू तथा इस्लामाबादको दुतावास र पेशावरको वाणिज्य दुतावासमा सम्भावित प्रदर्शनहरूको निगरानी गरिरहेको जनाएको छ। यसले पाकिस्तानमा रहेका अमेरिकी नागरिकहरूलाई स्थानीय समाचारहरूको निगरानी गर्न, आफ्नो वरपर सजग रहन, भीडभाडबाट टाढा रहन सुझाव दिएको छ।

प्रदर्शनहरू इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको हत्यापछिको प्रतिक्रियाका रूपमा भएका हुन्। शनिवार अमेरिका–इजरायलको संयुक्त हवाई आक्रमणमा तेहरानमा खामेनेईको हत्या भएको थियो। लाहोरमा सयौं कार्यकर्ताहरू अमेरिकी वाणिज्य दूतावास बाहिर जम्मा भएका थिए।

दूतावास आसपासमा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ भने इस्लामाबादमा अधिकारीहरुले सेक्सन १४४ लागू गरेका छन्। जसले सबै प्रकारका भेलाहरुमा प्रतिबन्ध लगाएको छ भने उलंघनकर्ताहरुमाथि कडा कानूनी कारबाही गर्ने चेतावनी दिइएको छ।

Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर