Aamsanchar

वामपन्थी एकतामा प्रचण्डको जोड

Author Image
सोमवार, फागुन १८, २०८२

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकतामा जोड दिएका छन् ।

भक्तपुर क्षेत्र नं. २ मा नेकपा एमालेसँग आबद्ध व्यक्तिहरुलाई नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गराउँदै उनले यस्तो बताएका हुन् । ‘आजको आवश्यकता भनेको वामपन्थी ध्रुवीकरणकै हो । वामपन्थी एकता आजको एकदमै महत्वपूर्ण आवश्यकता हो,’ उनले भने ।

यसक्रममा प्रचण्डले २०७४ सालको निर्वाचन सम्झिए । त्यसबेला तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रले मिलेर चुनाव लडेका थिए ।

‘हामी २०७४ को निर्वाचनमा एक भएर निर्वाचन लड्यौं । पछि एउटै पार्टी पनि बनायौं । झण्डै दुई तिहाइ एक्लै एउटै पार्टीको भएको थियो । तर, नेतृत्व सही नहुँदा त्यत्रो शक्ति आर्जन गरेर जनताको त्यति ठूलो विश्वास जितेर पनि बचाउन सकिएन,’ उनले भने ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि अझ कम्युनिस्टहरूबीच एकता आवश्यक भएको भन्दै प्रचण्डले आफू एकता प्रक्रियामा रहेको बताए ।

‘अहिले जेनजीको आन्दोलन, भदौ २४ गतेको घटनाक्रमपछि फेरि कम्युनिस्टहरू लाई एकतावद्ध गर्ने आवश्यकता झन बढ्यो । नेपाली कम्युनिस्ट पार्टी बनाउने प्रक्रिया अगाडि बढ्यो,’ प्रचण्डले भने, ‘एमालेबाट ठूलो संख्यामा केन्द्रका नेताहरूदेखि विभिन्न प्रदेशका मन्त्री र सांसदहरू अहिले दिनदिनै जस्तो नेपाली कम्युनिस्ट पार्टीमा जोडिने प्रक्रिया अगाडि बढिराखेकै छ ।’

निर्वाचनको मुखमा सूर्यविनायक नगरपालिका वडा नंं. ८ का श्याम मचामसी, राम बाला र राजु लबजू, भक्तपुर नगरपालिका वडा नं। ७ का रघुनाथ सुवाल तथा चाँगुनारायण नगरपालिका वडा नं.८ का कृष्ण राम कवा लगायतका नेता–कार्यकर्ताहरुले नेकपा एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई पार्टीमा स्वागत गर्दै प्रचण्डले वर्तमान राजनीतिक परिस्थितिमा बामपन्थी तथा क्रान्तिकारी शक्तिहरुको एकता अपरिहार्य भएको बताएका हुन् ।

Views: 7

प्रतिक्रिया (०)

सम्बन्धित खबर