

काठमाडौं – आज बिहानै इरानले इजरायलका प्रमुख सहरहरूलाई लक्षित गरी शक्तिशाली ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ।

जेरुसेलम र आसपासका क्षेत्रमा ठूला विष्फोटका आवाजहरू सुनिएका छन् भने इजरायलले आफ्ना नागरिकहरूलाई बङ्करमा बस्न निर्देशन दिएको छ।
इजरायली प्रतिरक्षा प्रणाली ’आइरन डोम’ र ’एरो’ ले धेरैजसो मिसाइलहरू आकाशमै नष्ट गरेको दाबी गरिए पनि क्षतिको पूर्ण विवरण आउन बाँकी छ।

यता, इजरायली वायुसेनाले इरानको राजधानी तेहरान, धार्मिक सहर कोम र इसफाहानस्थित आणविक केन्द्र वरपरका सैन्य संरचनाहरूमा भीषण हवाई आक्रमण जारी राखेको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले श्रीलङ्काको समुन्द्र नजिकै एउटा इरानी युद्धपोतलाई आफ्नो पनडुब्बीले टोर्पिडो प्रहार गरी डुबाइदिएको पुष्टि गरेको छ।
उक्त घटनामा कैयौँ इरानी जलसेना मारिएको आशंका गरिएको छ। यसैबीच, अमेरिका र इजरायलको आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको आजका लागि तय गरिएको अन्त्येष्टि कार्यक्रम सुरक्षाका कारण अन्तिम समयमा स्थगित गरिएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्।
इरानले आफ्ना नेताको हत्याको बदला लिन ’अपरेशन ट्रु प्रमिस ४’ मार्फत खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडा र दूतावासहरूमा ड्रोन आक्रमण तीव्र पारेको छ।


