

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले आम निर्वाचनको जनादेशले नयाँबाट केही हुन्छ कि भन्ने विश्वासका साथ अभिमत दिएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले निर्वाचनको जनादेश राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा आएको बताउँदै जनविश्वासअनुरुप अघि बढ्न पार्टीबाट प्रस्तावित प्रधानमन्त्री उम्मेदवार बालेन साहसहित बिजयी हुनुहुने सम्पूर्ण प्रतिनिधिलाई कार्य सफलताको शुभकामना दिएका छन्।
आफू उम्मेदवार रहेको निर्वाचन क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ताले गरेको मिहिनेतलाई धन्यवाद दिँदै महासचिव पोखरेलले सम्पूर्ण शुभेच्छुक र आफन्तजनहरुको साथ र सहयोग गरेपनि परिवर्तनको लहरका सामु प्रयासहरु सफल हुन नसकेकोले अभियानमा जुटेका सबैलाई धन्यवाद दिँदै दाङ–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित विपिन आचार्यलाई शुभकामना दिएका छन्।

उनले ‘जिन्दगीमा हार जित भइरहने भएकाले पन्छाउँदै अघि बढ्नुपर्ने’ उल्लेख गर्दै लोकतान्त्रिक प्रक्रियामा हार–जित स्वाभाविक भएकोले निराश नभई सकारात्मक सोचका साथ आफ्नो कर्तव्यमा निरन्तर लागिरहन अनुरोध गरेका छन्।


