बिर्तामोड। ११६ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल राष्ट्रिय मारवाडी महिला संगठनले झापा क्षेत्र नं. २ बाट प्रतिनिधीसभा सदसय पदमा निर्वाचित इन्दिरा राना मगरलाई ‘गौरव नारी सम्मान’ प्रदान गरेको छ। महिला तथा बालबालिकाको क्षेत्रमा उनले पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको संगठनले जनाएको छ।

आयोजित सम्मान कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी महिला संगठनकी केन्द्रीय अध्यक्ष निर्मला जोशी, नीतु सोमानी तथा दीपा खेडाईको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका महिला प्रतिनिधि तथा सामाजिक व्यक्तित्वहरूको पनि सहभागिता रहेको बताइएको छ।

सो अवसरमा बोल्दै संगठनकी केन्द्रीय अध्यक्ष निर्मला जोशीले इन्दिरा राना मगरले समाज, देश तथा अन्तर्राष्ट्रिय स्तरमा महिला र बालबालिकाको अधिकार तथा संरक्षणका क्षेत्रमा उल्लेखनीय काम गरेको बताइन्। उनले इन्दिरा राना मगरको योगदानले धेरैलाई प्रेरणा दिएको उल्लेख गर्दै समाज परिवर्तनका लागि खेलेको भूमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गरिन्।
अध्यक्ष जोशीका अनुसार झापा क्षेत्र नंं २ ले इन्दिरा राना मगरलाई प्रतिनिधि सभा सदस्यका रूपमा पाउनु समग्र क्षेत्र तथा देशकै लागि गौरवको विषय भएको उनले बताइन्।

कार्यक्रममा अन्तर्राष्ट्रिय नारी दिवसको महत्व, महिलाको नेतृत्व विकास, समान अधिकार तथा समाजमा महिलाको भूमिका सुदृढ गर्ने विषयमा पनि छलफल गरिएको थियो। आयोजक संस्थाले महिलाको सशक्तीकरण र सामाजिक परिवर्तनका क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई आगामी दिनमा पनि सम्मान गर्दै जाने जनाएको छ।


