

काठमाडौं – भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई अन्तिम प्रतिवेदन बुझाएको हो ।

आयोगले करिब दुई सय जनालाई सोधपुछ गरिएको र विज्ञहरुसँग पनि राय लिएर प्रतिवेदन तयार गरिएको जनाएको छ । त्यस्तै आयोगले भाद्र २३ र २४ गते घटेको घटनाको अध्ययन र विश्लेषणका आधारमा दोषीमाथि कारबाहीको सिफारिस गरिएको उल्लेख गरेको छ ।
जाँचबुझ आयोगको प्रतिवेदन बुझेपछि प्रधानमन्त्री कार्कीले अध्ययन गरेर मन्त्रिपरिषद्मार्फत आवश्यक प्रक्रिया अघि बढाउने बताए । उहाले आयोगको प्रतिवेदनको पूर्ण कार्यान्वयन गर्ने समयसम्म वर्तमान सरकार नरहने भएकाले आगामी सरकारले आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्ने विश्वास समेत व्यक्त गरे । मन्त्रिपरिषद्बाट पेश भएपछि प्रतिवेदनको निचोड सार्वजनिक गरिने उनले बताए ।

त्यस्तै प्रतिवेदन बुझाएपछि आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले प्रमाणका आधारमा सरकारलाई रायसुझाव दिएको र अव बाँकी काम सरकारले अघि बढाउने बताए। जेनजी आन्दोलनका क्रममा दोषी देखिएकालाई कारबाहीको सिफारिस गरिएको उनले बताए।
सरकारले असोज ५ गते जेनजी आन्दोलनमा जनधनको क्षति भएको घटनाबारे छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगमा नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य थिए ।


