Aamsanchar

प्रत्यक्षतर्फका सिटमध्ये ३ प्रदेशमा एमालेको प्रतिनिधित्व शून्य

Author Image
आइतवार, फागुन २४, २०८२

काठमाडौँ – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ । नतिजा अन्तिम चरणमा पुग्दै गर्दा एमालेको तीन प्रदेशबाट प्रतिनिधि सभा सदस्यको प्रतिनिधित्व शून्य हुने देखिएको छ ।

फागुन २१ गते भएको मतदानको सार्वजनिक नतिजा अनुसार सबैभन्दा बढी जित निकाल्नेमा सबै प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा रहेको छ । उसले यो समाचार तयार पार्दासम्म ११२ भन्दा बढी सिटमा जित निकालेको छ । रास्वपाको अझै १४ सिटमा अग्रता छ । त्यसैगरी दोस्रोमा नेपाली कांग्रेसले १५ सिट जित्दा २ क्षेत्रमा अग्रता छ । कांग्रेसले पनि सबै प्रदेशको प्रतिनिधित्व गरेको छ ।

तेस्रो दलमा खुम्चिएको नेकपा एमालेले प्रत्यक्षतर्फ सात सिट जितेको छ । जारी मतगणनामा एमालेले ३ सिटमा अग्रता बनाएको छ । अर्को कम्युनिस्ट पार्टी नेकपाले ६ सिटमा जित हासिल गर्दा बाँकी १ सिटमा अग्रता बनाएको छ । श्रम संस्कृति र राप्रपाले १÷१ सिट जित्दा स्वतन्त्रले १ सिट जितेको छ ।

जेनजी आन्दोलनपछि विशेष परिस्थितिमा भएको यो निर्वाचनमा विगतमा ठुला भनिएका दल नेपाली कांग्रेस, नेकपा एमाले, मधेसवादी दलमात्र नभएर राप्रपालगायतका दलहरू पनि आश्चर्यजनक ढङ्गले खुम्चिन पुगेका छन् ।

२०७९ सालको संसदीय निर्वाचनमा ७८ सिट जितेको नेकपा एमाले यो पटक प्रत्यक्षतर्फको निर्वाचनमा चार वटा प्रदेशबाट मात्र संघीय संसदमा प्रतिनिधित्व गर्ने अवस्थामा पुगेको छ । अहिलेसम्म कोशी प्रदेशमा ३, सुदूरमा २, कर्णालीमा १ र लुम्बिनीमा १ सिटमात्र जितेर प्रतिनिधित्व गरेको छ । चार प्रदेशको प्रतिनिधित्व सुनिश्चित गर्दा बागमती, गण्डकी र मधेसमा एमालेको शून्य अवस्थामा छ ।

एमालेका तर्फबाट कोशीमा इलाम–२ मा सुहाङ नेम्वाङ र ताप्लेजुङमा क्षितिज थेवे निर्वाचित भएर प्रतिनिधित्व गरिसकेका छन् भने इलाम–१ को अन्तिम नतिजा आइसकेको छैन । त्यस क्षेत्रमा भइरहेको मतगणनामा एमालेका काजीमान कागतेले अग्रता बनाएका छन् ।

प्रत्यक्षतर्फ एमालेबाट निर्वाचित सांसदहरू-

१। मोहम्मद इश्तियाक राई, बाँके–२

२।सुहाङ नेम्वाङ, इलाम–२

३।गणेश सिंह ठगुन्ना, दार्चुला–१

४।ऐनबहादुर महर, बझाङ–१

५।राजेन्द्रकुमार राई, धनकुटा–१

६।क्षितिज थेबे, ताप्लेजुङ–१

७। लक्ष्मीप्रसाद पोखरेल, दैलेख–२

Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर