झापा । सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापाले ठूलो परिमाणमा अवैध भारतीय मदिरासहित दुई जनालाई पक्राउ गरेको छ।

बुद्धशान्ति गाउँपालिका–७ वर्ने डाँडा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीको टोलीले चेकजाँचका क्रममा मदिरासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस टिमाईबाट सशस्त्र प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको टोलीले आइतबार बिहान करिब ९ः३० बजे बा १५ च १२९८ नम्बरको महेन्द्रा स्कार्पिओ गाडी जाँच गर्दा इलामबाट झापातर्फ ल्याइँदै गरेको अवैध भारतीय मदिरा फेला पारेको जनाएको छ।
टोलीले विभिन्न ब्रान्डका ३६ कार्टुन भारतीय मदिरा बरामद गरेको छ, जसको अनुमानित मूल्य १ लाख ७८ हजार ९५५ रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा भोजपुर टेम्केमैयुङ गाउँपालिका–२ का ५२ वर्षीय गणेशकुमार राई (सवारी चालक) र पाँचथर हिलिहाङ गाउँपालिका–२ का ४० वर्षीय शंकरप्रसाद प्रसाईं (सामान धनी) लाई नियन्त्रणमा लिइएको छ।
बरामद मदिरा, स्कार्पिओ गाडी र पक्राउ परेका व्यक्तिहरूको कुल मूल्य करिब २९ लाख ७८ हजार ९५५ रुपैयाँ कायम गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका दुवै जनालाई थप आवश्यक कारबाहीका लागि मदिरा तथा सवारी साधनसहित मेची भन्सार कार्यालय, काँकडभिट्टा झापामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।


