काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै नयाँ सरकार गठन र प्रधानमन्त्री चयन प्रक्रियाबारे सर्वत्र चासो बढेको छ। नेपालको संवैधानिक व्यवस्था अनुसार आम निर्वाचनपछि प्रधानमन्त्री नियुक्त गर्ने स्पष्ट प्रक्रिया तय गरिएको छ।

नेपालको संविधान २०७२ अनुसार प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएपछि नेपालका राष्ट्रपति ले ३० दिनभित्र प्रतिनिधिसभाको पहिलो बैठक आह्वान गर्नुपर्ने व्यवस्था छ।

संसदको पहिलो बैठक बसेपछि संविधानको धारा ७६ अनुसार सरकार गठन प्रक्रिया अघि बढ्छ। प्रतिनिधिसभामा कुनै एक दलले बहुमत (१३८ सिट) प्राप्त गरेको अवस्थामा राष्ट्रपतिले सो दलको संसदीय दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।
यदि कुनै दलले स्पष्ट बहुमत नल्याएमा भने दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त गर्ने सांसदलाई प्रधानमन्त्री नियुक्त गरिने संवैधानिक प्रावधान छ। त्यस्तो अवस्थामा दलहरूबीच गठबन्धन बनाएर सरकार गठन गर्ने अभ्यास रहँदै आएको छ।

संविधानले प्रधानमन्त्री नियुक्तिको कडा समयसीमा तोकेको छैन। तर प्रतिनिधिसभाको पहिलो बैठक बसेपछि सामान्यतया केही दिनभित्रै प्रधानमन्त्री नियुक्ति प्रक्रिया टुंगिने गरेको छ।
यस आधारमा हेर्दा निर्वाचन परिणाम सार्वजनिक भएको करिब एक महिनाभित्र नयाँ प्रधानमन्त्री चयन हुने संवैधानिक मार्ग खुला रहने व्यवस्था रहेको छ।


