

काठमाडौँ – नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले निर्वाचनको परिणामप्रति लक्ष्य गरी ‘आफूहरू मरेको नभई ढलेको मात्र’ प्रतिक्रिया दिएका छन्।

सोमबार सामाजिक सञ्जालमा लेखेर उनले निर्वाचनमा जनताले आफूहरूको नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपले अस्वीकृत गरेको स्वीकार गरेका छन। उनले पार्टीलाई सर्वांगीण रूपान्तरण गरी पुन जनसमर्थन आर्जन गर्नुपर्ने तर्क गरेका छन्।
भट्टराईले भदौ २३ र २४ पछि पार्टीले लिएको नीति नै गलत भएको दाबी गरेका छन्। ‘मूलत भाद्र २३ र २४ पछि हाम्रो पार्टीले लिएका नीति ठिक छैनन त्यसमा करेक्शन गरौ भनेर हामीले नेतृत्व र सिगो पार्टी पंतिलाई बैठक, भेटघाट र महाधिवेशन मार्फत पटक(पटक अनुरोध गर्यौँ तर सफल भएनौ’, उनले लेखेका छन्, ‘अब पुनस् छलफल र बहस खुला गर्नु पर्दछ।’

उनले एमाले यो अवस्थामा आउनुमा पार्टीले लिएका नीति मात्र होइन जिम्मेवारीमा रहेका तहगत कमिटी र नेताहरू सबैले भागीदारी बोक्नु पर्ने बताएका छन्।
उनले संयम र धैर्यकासाथ पार्टीको एकता जोगाउन र सही मार्गमा अघि बढ़न र आत्मभर्त्सनाको नभई आत्मसमीक्षाको बाटोमा हिँड़न समग्र पार्टीपंक्तिलाई आग्रह गरेका छन्। ‘कमरेडहरू, हामी ढलेका मात्र हौँ, मरेका होइनौँ। सही नीति, सहि संगठन, सही नेतृत्व, सहि व्यवहार र सहि कार्यशैली मार्फ़त हामी उठने छौ र पार्टी, जनता र राष्ट्रको स्वाभिमानलाई फेरि उठाउने छौँ’, उनले भनेका छन्।


