

काठमाडौं – अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ । नेपाल फुटबल खेलाडी संघले माग पूरा नभएको भन्दै एन्फाको मुख्यालयमा आइतबार तालाबन्दी गरेको थियो । सोही विषयमा प्रेस विज्ञप्ति जारी गर्दै एन्फाले तालाबन्दी हुँदा ‘ए’ डिभिजन लिग समयमै गर्न असम्भव देखिएको जनाएको छ ।

‘शहीद स्मारक ए डिभिजन लिग र राष्ट्रिय लिग सञ्चालनका लागि एन्फा सहभागी क्लबहरू र खेलाडी संघबीच निरन्तर संवाद र समन्वय भई राष्ट्रिय लिग तय भएको र निर्धारित कार्यतालिकाअनुसार राष्ट्रिय लिग सम्पन्न भएको एक महिना पश्चात ए डिभिजन लिग सुरु गर्न एन्फा पूर्ण रुपमा प्रतिवद्ध रहेको र सोही बमोजिम तयारी भइरहेको जानकारी गराउन चाहन्छौँ,’ विज्ञप्तिमा उल्लेख छ, ‘तसर्थ खेलाडी संघको माग र त्रिपक्षीय सहमति तालाबन्दीको बीचमा सबै दैनिक प्रशासनिक गतिविधिहरू अवरुद्ध हुन गएको कारण कार्यान्वयन गर्न असम्भव देखिन्छ ।’
क्लब र खेलाडी संघबीच संवाद र समन्वय भई तय गरिएको कार्यतालिकाअनुसार ‘ए’ डिभिजन लिग गर्न एन्फा प्रतिवद्ध रहेको एन्फाले जिकिर गरेको छ । तर, तालाबन्दी हुँदा दैनिक प्रशासनिक गतिविधि अवरुद्ध हुन गएको कारण सहमति कार्यान्वयन गर्न असम्भव देखिएको एन्फाको तर्क छ ।

खेलाडी संघको मागअनुसार अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट फाइनल खेलको टिकटबापत केहि रकम खेलाडी कल्याण कोषमा जम्मा गर्ने निर्णयमा संघ प्रतिवद्ध रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
यस्तै वर्तमान कार्यसमितिद्वारा घोषित पुरस्कार पूर्ण रुपमा भुक्तानी गरिसकिएको एन्फाको तर्क छ । ‘अघिल्लो विभिन्न कार्यसमितिले निर्णय गरी बाँकी रहेका पुरस्कार रकमको सन्दर्भमा आन्तरिक स्रोतबाट भुक्तानी गर्नुपर्ने हुँदा क्रमिक रुपमा आन्तरिक स्रोतको उपलब्धतासँगै भुक्तानी गर्दैजाने संघ प्रतिवद्धता व्यक्त गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।


