Aamsanchar

प्लास्टिकजन्य फोहोर प्रशोधन प्लान्टको काम अन्तिम चरणमा

Author Image
बिहिवार, फागुन २८, २०८२

वीरगन्ज – वीरगन्ज महानगरपालिका–१६ मा अवस्थित फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) परिसरमै प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्लास्टिकजन्य फोहोर प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ। वीरगन्ज महानगर क्षेत्रबाट संकलन हुने प्लास्टिकजन्य फोहोरलाई वैज्ञानिक तरिकाले प्रशोधन गरी पुनःप्रयोगमा ल्याउने उद्देश्यसहित फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) परिसरमै उक्त प्लान्ट निर्माण भइरहेको हो।

महानगरपालिकाका कार्यालयको वन तथा वातावरण शाखा प्रमुख राकेश साहका अनुसार सूर्य नेपाल प्रालिको करिब ४ करोड रुपैयाँको लगानीमा उक्त प्लान्ट निर्माण भइरहेको हो। हाल निर्माण कार्य अन्तिम चरणमा पुगेको र छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको साहले बताए। ई। साहका अनुसार अहिले निर्माण भइरहेको प्लान्टले दैनिक करिब २० टन प्लास्टिकजन्य फोहोर प्रशोधन गर्ने क्षमताको छ। वीरगन्ज महानगर क्षेत्रमा हाल दैनिक करिब ६०/६५ टन फोहोर संकलन हुँदै आएको छ। संकलित फोहोरमध्ये प्लास्टिकजन्य फोहोरलाई छुट्याएर उक्त प्लान्टमार्फत प्रशोधन गरिने व्यवस्था मिलाइने साहले जनाए।
गत असोजमा वीरगन्ज महानगरपालिका, जिरो वेस्ट इनिसिएटिभ नेपाल र सूर्य नेपाल प्रालिबीच फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षणसम्बन्धी त्रिपक्षीय सम्झौता भएपछि यो परियोजनाको निर्माण कार्य अघि बढाइएको साहले बताए। उक्त सम्झौताअनुसार निजी क्षेत्रको लगानी र सहकार्यमा महानगरको फोहोर व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको उनले बताए।

महानगरपालिकाले फोहोर व्यवस्थापनलाई दिगो, वैज्ञानिक र वातावरणमैत्री बनाउने नीति अनुरूप प्रशोधन केन्द्रभित्र आधुनिक प्लान्ट निर्माण गरिरहेको मेयर राजेशमान सिंहले बताए। प्लान्ट सञ्चालनमा आएपछि वीरगन्ज महानगरभित्रबाट दैनिक संकलन हुने प्लास्टिकजन्य फोहोर छुट्याएर प्रशोधन गरिने र त्यसलाई पुनः प्रयोग गर्न मिल्ने सामग्रीका रूपमा उत्पादन गरिने उनले जानकारी गराए।

निर्माणाधिन उक्त प्लान्टको निर्माण कार्यको प्रगति बुझ्न बुुधबार महानगर प्रमुख राजेशमान सिंह र सूर्य नेपाल प्रालिका उद्योग प्रमुख सुरेश काजी महर्जनसहितको टोली निर्माण स्थलमा पुगेको थियो। टोलीले निर्माण कार्यको अवस्था, प्राविधिक पक्ष तथा आगामी सञ्चालन प्रक्रियाबारे स्थलगत जानकारी लिएको थियो।

निर्माण कार्य सम्पन्न भएपछि उक्त प्लान्ट वीरगन्ज महानगरपालिकालाई हस्तान्तरण गरिने सूर्य नेपाल प्रालिका उद्योग प्रमुख महर्जनले बताए।

Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर