Aamsanchar

युवाको नेतृत्वमा नेपालमा द्रुत विकास हुन्छ : डा. बाबुराम भट्टराई

Author Image
बिहिवार, फागुन २८, २०८२

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवाको नेतृत्वमा नेपालमा द्रुत विकास हुने विश्वास व्यक्त गरेका छन् । भारतमा आयोजित एनएक्स्टटी सम्मेलनको प्रधानमन्त्रीहरूको गोलमेच सत्रलाई सम्बोधन गर्दै भट्टराईले नयाँ राजनीतिक परिवर्तनसँगै नेपाल विकासको पिँधमा नरहेर विश्वसँगै द्रुत विकासमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका हुन् ।

उनले नेपाल अब भारत र चीनबीच ‘च्यापिएको’ देश नरही दुई ठूला अर्थतन्त्रलाई जोड्ने जीवन्त पुल बनेको बताए। बदलिँदो भूराजनीति र प्रविधिको विकाससँगै नेपालले आफ्नो परराष्ट्र नीतिलाई परिमार्जन गर्दै दुवै छिमेकीबाट लाभ लिनुपर्नेमा भट्टराईले जोड दिए । स्विडेनका पूर्वप्रधानमन्त्री फ्रेडरिक रेनफेल्ड र अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मौरिसनसँगै एउटै मञ्चमा आफ्ना धारणा राख्दै डा। भट्टराईले नेपालको पछिल्लो युवा जागरण र राजनीतिक विद्रोहप्रति आफू निकै गर्वित रहेको बताए।

‘नेपाल लोकतन्त्र र खुलापनको मामिलामा झन्डै सय वर्ष पछाडि परेको देश थियो। तर अहिले प्रविधि, इन्टरनेट र एआईको पहुँच हाम्रा गाउँ-गाउँसम्म पुगेको छ,’ भट्टराईले भने, ‘यससँगै उदाएको नयाँ पुस्ताले पुरानो राजनीतिक प्रणाली र पुराना नेताहरूविरुद्ध विद्रोह गर्ने हिम्मत गरेको छ। उनीहरू देशको नेतृत्व सम्हाल्न अघि सरेका छन् र म यसमा निकै गर्व गर्छु।’ भट्टराईले अब नेपाल विकासको पिँधमा नरहने र विश्वसँगै द्रुत गतिमा अघि बढ्ने विश्वाससमेत व्यक्त गरे।

सम्बोधनका क्रममा डा. भट्टराईले चौथो औद्योगिक क्रान्ति, कृत्रिम बौद्धिकता र प्रविधिको विकासले राजनीतिको समग्र अवधारणालाई नै बदल्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, ‘हामीले अहिलेसम्म अभ्यास गर्दै आएको परम्परागत प्रतिनिधिमूलक लोकतन्त्रभन्दा माथि उठ्ने बेला आएको छ। अब हामीले अनुगमनमुखी, समावेशी र सहभागितामूलक लोकतन्त्रको अभ्यास गर्नुपर्छ।’ उनले उदारवादी, समाजवादी वा रुढीवादी लोकतन्त्रका परम्परागत भाष्यहरू एक्काइसौँ शताब्दीका चुनौतीहरू समाधान गर्न अपर्याप्त रहेको दाबी गरे।

भारतले पछिल्ला दशकहरूमा प्रविधि र विकासमा मारेको फड्कोको प्रशंसा गर्दै भट्टराईले दक्षिण एशियाको गरिबी निवारण र समग्र क्षेत्रको रूपान्तरणका लागि नेतृत्व लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरे। भारतका प्रधानमन्त्री मोदीले अघि सारेको ‘वसुधैव कुटुम्बकम्’ को मान्यतालाई उद्धृत गर्दै भट्टराईले भने, ‘प्रविधि र सूचनाको प्रवाहले विश्वलाई निकै साँघुरो बनाएको छ। यो समय राष्ट्र(राज्यको साँघुरो घेराभन्दा माथि उठेर विश्व राजनीति र अर्थतन्त्रलाई विश्वव्यापी स्तरमा पुनर्संरचना गर्ने समय हो। यसमा भारतले नेतृत्व लिनुपर्छ।’ उक्त सत्रमा विश्वको बदलिँदो शक्ति सन्तुलन, इन्डो(प्यासिफिक क्षेत्रको महत्त्व र प्रविधिले ल्याएको अवसर तथा चुनौतीका विषयमा तीनै जना पूर्वप्रधानमन्त्रीहरूले मन्थन गरेका थिए।

Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर