Aamsanchar

चुनावमा अन्तर्घात गरेको भन्दै एमालेले गाउँपालिका उपाध्यक्षलाई निलम्बन गर्यो

Author Image
बिहिवार, फागुन २८, २०८२

धनकुटा – नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई निलम्बन गरेको छ । पार्टी गतिविधि विपरीत काम गरेको आरोप लगाउँदै मंगलबार सम्पन्न जिल्ला कमिटीको विस्तारित बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको नेकपा एमाले जिल्ला अध्यक्ष शिव आङ्लाले जानकारी दिए ।

उनका अनुसार जिल्ला कमिटी बैठकमा विषय उठेपछि उपाध्यक्ष राईमाथि निलम्बनको कारबाही गरिएको हो । राई साँगुरीगढी गाउँपालिकाकी निर्वाचित उपाध्यक्ष हुन् । त्यसैगरी बैठकले प्रतिनिधि सभा निर्वाचनका क्रममा पार्टीविरुद्ध अन्तर्घात गरेको आरोप लागेका कार्यकर्तामाथि कारबाही गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

भीम राईको संयोजकत्वमा गठन गरिएको समितिमा हिमादेवी भट्टराई र एम।पी। उपाध्याय सदस्य रहेका छन् । यता आफूलाई गरिएको भनिएको कारबाहीबारे प्रतिक्रिया दिँदै साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईले हालसम्म औपचारिक जानकारी प्राप्त नभएको बताइन् । उनले विगतदेखि आफूलाई कारबाहीको नाममा दबाब दिने प्रयास भइरहेको बताउँदै यदि कारबाही भएको हो भने त्यसलाई स्वाभाविक रूपमा लिने प्रतिक्रिया दिएकी छन् ।

 

Views: 218

प्रतिक्रिया (०)

सम्बन्धित खबर