Aamsanchar

किताब बेच्ने क्रममा सांसद महावीर पुनसँग भनाभन गर्ने पक्राउ

Author Image
बिहिवार, फागुन २८, २०८२

पोखरा – म्याग्दीबाट प्रतिनिधिसभा सदस्यको चुनाव जितेर पृथ्वीचोकमा किताब बेच्ने क्रममा सांसद महावीर पुनसँग भनाभन गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

म्याग्दीबाट स्वतन्त्र चुनाव जितेपछि पनि पोखराको पृथ्वीचोकमा कृषि औजार कारखानाका लागि भन्दै किताब बेचिरहेका महावीरसँग २५ फागुनमा एक व्यक्तिले प्रश्न गर्ने क्रममा भनाभन भएको भिडियो सार्वजनिक भएको थियो ।

महावीर पुनसँग सांसदको काम किताब बेच्ने हो भन्दै प्रश्न गरेका व्यक्तिबीच भनाभन हुँदै अपमानजनक व्यवहार भएको भन्दै प्रश्नसमेत उठेको थियो । महावीर र ती व्यक्तिबीच भनाभन हुँदै एकअर्काले ‘थुक्क’ भनेको भिडियो भाइरल बनेको थियो ।

महावीरलाई अभद्र व्यवहार गरेको भन्दै प्रश्न उठेपछि प्रहरीले उनको खोजी गरिरहेको थियो ।

पोखरा वडा नम्बर १३ बाँझापाटन बस्ने वर्ष ४३ को विकास गुरुङलाई बिहीबार पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले पुष्टि गरे ।

‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक बिक्री गरिरहेको अवस्थामा विवशले महावीरलाई सांसदको काम किताब बेच्ने नभएको बताएका थिए भने त्यही क्रममा भनाभन हुँदै अपमानजनक व्यवहारसमेत भएको थियो । यो घटना र व्यवहारलाई लिएर सकारात्मक र नकारात्मक दुवै खाले प्रतिक्रिया आएका थिए ।

सांसद भए पनि संसद् नचलेकाले यो बीचमा कारखानाका लागि भन्दै पैसा उठाउन किताब बेचेको बताएका महावीरले ठीक काम गरेको भन्दै प्रशंसा गर्नेहरू पनि छन् भने सांसद भइसकेपछि पनि किताब बेच्दै हिँड्नु लोकप्रियतामात्रै भएकाले ती नागरिकको प्रश्न ठीक भन्ने प्रतिक्रिया जनाउनेहरू पनि थिए ।

तर, पूर्वमन्त्री तथा सांसदलाई अपमानजनक व्यवहार गर्नुको कारण खोज्नुपर्ने आवाज उठेपछि प्रहरीले विकासलाई पक्राउ गरेको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।

‘त्यत्रो विषय आइसकेपछि घटना के रहेछ, के कारणले त्यस्तो व्यवहार गरेका रहेछन् भनेर अनुसन्धान गर्नका लागि मात्रै भए पनि ल्याउनुपर्ने थियो । त्यसैले समातेका हौं,’ एसपी कार्कीले भने, ‘अहिलेसम्म कतैबाट जाहेरी चाहिँ परेको छैन । उनले आफूले प्रश्न गर्न जवाफ चित्त नबुझेपछि रिस उठेको र आफ्नो छिटो रिस उठ्ने बानीसमेत रहेको बताएका छन् ।’

घटनाका विषयमा जाहेरी दिने वा पक्राउ गर्नेबारे डा. महावीरले भने प्रहरीलाई जेसुकै गर भन्ने जवाफ दिएका थिए । उनलाई अनुसन्धानपछि कागज गराएर छाड्न सकिने प्रहरी स्रोतले जनाएको छ ।

सांसद भइसकेपछि पनि किन किताब बेचेको भनेर प्रश्न गर्दा दुईबीच भनाभन हुँदै एकअर्काको अपमान भएको निहुँमा पक्राउ गर्नु गलत हुने आवाजसमेत उठिरहेको छ ।

सांसद, पूर्वमन्त्री हुनेबित्तिकै प्रश्न गर्नै नपाउने, उनी सडकमा किताब बेचेर साधारण मानिसको परिचय दिँदै चर्चा बटुल्ने तर नागरिकले प्रश्न गर्दा भनाभन भयो भनेर पक्राउ गर्नु अन्याय हुनेसमेत प्रतिक्रिया आइरहेका छन् ।

महावीरले अहिले पनि पोखरामा किताब बेचिरहेका छन् । उनले आफू फुर्सदमा भएकाले किताब बिक्री गरेको बताएका छन् । पक्राउ पर्ने व्यक्ति ३ पटकसम्म लागुऔषध मुद्दामा सजाय पाएको प्रहरीको भनाइ छ । तर, अन्य कसुरमा सजाय पाएकाले यो घटनामा पनि उनलाई मात्र दोषी देखाएर कारबाही गर्न नहुने तर्क पनि नागरिक तहबाट उठिरहेको छ ।

२३ र २४ भदौको जेनजी आन्दोलनपछि बनेको पूर्वप्रधानान्यायाधिश सुशीला कार्की नेतृत्वको सरकारमा महावीर शिक्षामन्त्री थिए । मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीबाट स्वतन्त्र चुनाव लडेका महावीरलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन गरेको थियो । महावीरले म्याग्दीबाट लोकप्रिय मतका साथ जितेका थिए ।

चुनाव जितेर पोखरामा हस्ताक्षर गर्दै किताब बेचिरहेका महावीरलाई विकासले जनताले जिताएको किताब बेच्न हो भनेर प्रश्न गरेका छन् ।

‘तपाईंको काम यो होइन । कारखाना चलाउने मान्छे सांसद किन भएको त ? जनताले प्रत्यक्ष निर्वाचित गरेको मान्छेले किताब बेच्ने हो ?’ महावीरलाई उनले प्रश्न सोधेका छन्, ‘तपाईंको काम यो होइन, जनताले कुन म्यान्डेड दिएका छन्, त्यही गर्नु न ।’

जनताले कारखाना चलाउन म्यान्डेड दिएको महावीरले जवाफ फर्काएका थिए । उनलाई फेरि ती व्यक्तिले प्रश्न गर्छन्, ‘कारखाना चलाउने मान्छे किन सांसद उठेको त ?’ नोकझोकै क्रममा विकासले महावीरलाई लक्षित गर्दै ‘थुक्क’ भन्छन् भने महावीरले पनि त्यसै गरेको भिडियोमा देखिन्छ ।

Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर