

पोखरा – कास्कीको पोखरा महानगरपालिका-६, जरेवरस्थित भण्डारी ट्रेडर्सले कृत्रिम अभाव सिर्जना गर्न ग्यास लुकाएको र एउटा सिलिन्डरबाट अर्कोमा ग्यास सार्ने गरेको फेला परेपछि प्रशासनले कारबाही गरेको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा उक्त पसलले उपभोक्ता संरक्षण ऐन २०७५ विपरीत कार्य गरेको भेटिएपछि तत्कालै ५० हजार रुपैयाँ जरिवाना गरिएको हो।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल आयल निगम, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र उपभोक्ता मञ्चका प्रतिनिधि सम्मिलित संयुक्त टोलीले शनिबार पोखराका विभिन्न ५ वटा ग्यास डिलरको अनुगमन गरेको थियो।

सो क्रममा भण्डारी ट्रेडर्समा १४.२ केजी तौल भएका ४८ थान ग्यास सिलिन्डर अनुचित रूपमा लुकाई छिपाई सञ्चित गरी राखेको अवस्थामा फेला परेको थियो। अनुगमन टोलीले उक्त पसलमा एउटा सिलिन्डरबाट अर्को सिलिन्डरमा ग्यास सार्दै गरेको अवस्थामा ३ थान उपकरण समेत बरामद गरेको छ।
प्रशासनले भण्डारी ट्रेडर्सलाई ५० हजार रुपैयाँ जरिवाना गर्नुका साथै अनुगमनका क्रममा फेला परेका १४.२ केजीका ४८ थान र ७.१ केजीका ३८ थान ग्यास सिलिन्डरहरु पहिले आउने उपभोक्तालाई पहिलो सेवा प्रदान गर्ने गरी बिना भेदभाव बिक्री वितरण गर्न निर्देशन दिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले ग्यासको परिमाणमा परिमार्जन तथा फेरबदल नगर्न, कृत्रिम अभाव सिर्जना नगर्न र अनावश्यक सञ्चितीकरण जस्ता क्रियाकलाप नगर्न कडा निर्देशन दिएका छन्। आगामी दिनमा उपभोक्ता हित संरक्षण विपरीतका गतिविधि गरेमा थप कानुनी कारबाही हुने चेतावनी समेत प्रशासनले दिएको छ।
अनुगमनकै क्रममा अन्य ३ वटा ग्यास डिलरहरुमा भने ग्यासको मौज्दात र भण्डारण उचित रहेको पाइएको छ। त्यस्तै, १ वटा ग्यास डिलरमा ७.१ केजी तौल भएका ३२४ थान ग्यास झार्दै गरेको अवस्थामा फेला परेको थियो।


