Aamsanchar

अब धरहरामा नि:शुल्क पार्किङ सञ्चालनमा

Author Image
सोमवार, चैत २, २०८२

काठमाडौं –    काठमाडौं महानगरपालिकाको व्यवस्थापनमा धरहरा क्षेत्रमा निर्माण भएको सवारी पार्किङ क्षेत्रलाई सञ्चालनमा ल्याइएको छ । फागुन १० गतेदेखि नै महानगरले धराहरा क्षेत्रका पार्किङको व्यवस्थापन गरी सञ्चालनमा ल्याएको हो ।

२०८२ फागुन ९ गतेको मन्त्रिपरिषद्को बैठकले धराहरा क्षेत्रको सवारी पार्किङ व्यवस्थापन र सञ्चालनको जिम्मेवारी काठमाडौं महानगरलाई दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार पार्किङको जिम्मेवारी महानगरपालिकाको नगर प्रहरी बलले सम्हालेको हो ।

काठमाडौं महानगर प्रहरी बलका प्रमुखको विष्णुप्रसाद जोशीले शुरुवाती चरणमा पार्किङ क्षेत्र पर्याप्त रूपमा व्यवस्थित नभएको जानकारी गराए । महानगरले जिम्मेवारी लिएपछि आवश्यक सुरक्षा तथा पूर्वाधार सुधार गरेर पार्किङ क्षेत्र सञ्चालनमा ल्याएको उनले जानकारी दिए ।

‘सुरुका दिनमा यहाँ धेरै कुराहरू व्यवस्थित थिएनन्, हामीले जिम्मेवारी लिइसकेपछि बत्तीको व्यवस्थापन गर्‍यौँ । फायर एक्स्टिङ्विग्सर थिएन, प्रज्वलनशील पदार्थ हुनसक्ने ठाउँमा, सवारी साधन हुने ठाउँमा फायर एक्स्टिङ्विग्सरको आवश्यकता अपरिहार्य थियो । यो तीन वटा तलामा प्रत्येक तल्लामा १० थानको दरले ३० थान हामीले फायर एक्स्टिङ्विग्सर जडान गरेका छौं,’ उनले भने । पार्किङ क्षेत्रमा सवारीको सुरक्षाको लागि सिसिटिभी क्यामेरा समेत जडान गरिएको छ । सिसिटिभी क्यामेरा अझै थप गर्ने तयारी भइरहेको उनले बताए ।

‘सिसिटिभी क्यामेराहरू भने पहिलेदेखि नै थिए तर अपुग छ, हामी थप गर्ने तयारीमा छौँ । आवश्यकताअनुसार अपुग भएका कुराहरू हामी थप गर्दै जानेछौं,’ उनले भने ।

तीन भागमा पार्किङ विभाजन

धरहराको बेसमेन्ट पार्किङलाई बी–१, बी–२ र बी–३ गरी तीन भागमा विभाजन गरिएको छ । सबैभन्दा माथिल्लो तलामा रहेको बी–१ पार्किङमा १ सय २७ वटा चारपाङ्ग्रे सवारी साधन अट्ने क्षमता रहेको छ ।यस्तै बी–२ मा करिव ७ सय वटा मोटरसाइकल पार्किङ गर्न सकिने छ ।

सबैभन्दा तल्लो तलामा रहेको बी–३ पार्किङमा भने हावाको प्रवाह (एयर सर्कुलेसन)मा केही समस्या देखिएकोले त्यहाँ पार्किङको लागि केही समस्या भएको प्रमुख जोशीले बताए । उक्त तलामा १३५ वटा चारपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने क्षमता रहेको छ ।

महानगरपालिकाले विशेषगरी वसन्तपुर, विशालबजार, धर्मपथ, पाको, खिचापोखरी, सुन्धारा र जमल क्षेत्रलाई लक्षित गर्दै धरहराको पार्किङ सञ्चालनमा ल्याएको हो । ती क्षेत्रका फुटपाथ तथा सार्वजनिक सडकमा पार्किङ गर्न पूर्ण रूपमा रोक लगाइएको छ । महानगरकाअनुसार काठमाडौं महानगरपालिका भित्रका वडा नम्बर १ देखि ३२ सम्म सार्वजनिक सडक तथा पेटीमा सवारी साधन पार्किङ गर्न पाइँदैन । नियम उल्लंघन गर्ने सवारी चालकलाई कानुनी कारबाहीको दायरामा ल्याइएको पनि महानगरले जनाएको छ ।

‘ठाउँठाउँमा अपाङ्गमैत्री सवारीसाधनहरूको पनि व्यवस्थापन गर्ने गरिएको छ । अहिले महानगरपालिका यो शहर क्षेत्रभित्रका विशेषगरी वसन्तपुर, विशालबजार, धर्मपथ, पाको, खिचापोखरी, सुन्धारा, जमल क्षेत्रलाई लक्षित गरेर पार्किङ सञ्चालनमा ल्याएको हो । त्यो क्षेत्रमा हामीले पार्किङ निषेध गरेका छौँ, फुटपाथमा,’ उनले भने ।

धरहराको पार्किङ निस्शुल्क

नगर प्रहरी बलका प्रमुख जोशीकाअनुसार हाल धरहरा पार्किङ सेवा पूर्णरूपमा निस्शुल्क राखिएको छ । नगर प्रहरी बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म खटिने गरेका छन् । पार्किङ क्षेत्र भने बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सवारी साधन भिर्त्याउनका लागि खुला रहनेछ भने त्यसपछि बाहिर निकाल्न मात्रै अनुमति दिइने व्यवस्था गरिएको उनले जानकारी दिए । ‘हामीले निस्शुल्क पार्किङको व्यवस्था गरेका छौँ, कुनै शुल्क लिएको छैन । नगरप्रहरी विहान ६ बजेदेखि बेलुकी ८ बजेसम्म तैनाथ हुन्छन् । आवश्यकताका आधारमा कहिले कहीँ सवारीसाधन लिन नआउने, अबेर आउँदाखेरी ९र१० बजेसम्म पनि हामी पर्खिने गरेका छौं,’ उनले भने ।सवारीसाधनको सुरक्षाको जिम्मेवारी भने सवारीधनी आफैंले लिनुपर्ने उनले बताए ।

Views: 14

प्रतिक्रिया (०)

सम्बन्धित खबर