

धनकुटा – गए राति आएको हावाहुरीका कारण धनकुटा सदरमुकामसहित जिल्लाका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ । हावाहुरीले विद्युतका पोल भाँचिनुका साथै रुख ढल्दा तार चुँडिँदा गए रातिदेखि नै विद्युत आपूर्ति प्रभावित भएको हो ।

धरान–धनकुटा ३३ केभी तथा वसन्तपुर ३३ केभी लाइनका विभिन्न स्थानमा क्षति पुगेको जनाइएको छ । विद्युत सेवा सुचारु गर्न नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रका प्राविधिक टोलीहरू मर्मत कार्यमा खटिएका छन् ।
केन्द्रका प्रमुख इञ्जिनियर विजलीप्रसाद यादवका अनुसार हाल ४–५ वटा टोली मर्मत कार्यमा सक्रिय छन् । उनले पहिले ३३ केभी लाइन मर्मतलाई प्राथमिकता दिइने र त्यसपछि अन्य लाइनहरू मर्मत गरी सकेसम्म आज साँझसम्म विद्युत सेवा सुचारु गर्ने प्रयास भइरहेको जानकारी दिए ।

Views: 37


