

काठमाडौं – पोर्चुगल रहेका नेपाली गम्भीर कानुनी झमेलामा परेका छन्।

पोर्चुगलमा अहिले करिब २५ सय नेपालीहरु गम्भीर कानुनी समस्यामा परेका हुन्। नेपाली पुलिस रिपोर्ट प्रमाणीकरणसम्बन्धी कागजातमा नक्कली छाप प्रयोग भएको आशंकामा पोर्चुगल प्रशासनले धेरै नेपालीहरूको रेसिडेन्सी प्रक्रिया रोकेको छ र अहिले धेरै नेपालीहरूलाई देश छाड्न निर्देशन दिएको छ।
त्यहाँ रहेका नेपालीले समस्याबारे पटक–पटक पोर्चुगलस्थित नेपाली दूतावासमा पुगेर गुहार मागे पनि समस्याको समाधान हुन नसकेको त्यहाँ रहेका नेपालीको गुनासो छ। दूतावासले नेपाल सरकार वा परराष्ट्र मन्त्रालयलाई स्पष्ट रूपमा जानकारी नगराएको उनीहरुको आरोप छ।

‘फेक पुलिस रिपोर्ट‘ भन्ने विषय नेपाल प्रहरीले जारी गरेको रिपोर्टमा नक्कली स्टाम्प प्रयोग भएको विषयसँग सम्बन्धित छ। यसमा नेपालभित्रकै केही बिचौलिया तथा सम्भावित उच्चस्तरीय संलग्नताको आशंका पनि उठिरहेको छ।
यसले निर्दोष नेपालीहरूलाई मात्र कानुनी समस्यामा पारिनु अत्यन्त अन्यायपूर्ण देखिएको त्यहाँ बसोबास गर्ने नेपालीको आरोप छ।


