Aamsanchar

ताप्लेजुङमा हावाहुरीले लाखौं मूल्य बराबरको नोक्सानी

Author Image
मङ्गलवार, चैत ३, २०८२

ताप्लेजुङ-  ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ । प्रहरीका अनुसार आइतबार र सोमबार चलेको हावाहुरीले जिल्लाको विभिन्न ठाउँमा मानिसको घर गोठ तथा सार्वजनिक संरचनामा क्षति गर्दा उक्त नोक्सानी हुन पुगेको हो ।

ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार वर्षासँगै आएको हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा क्षति गरेको हो ।

मानिसको घर गोठ र वडा कार्यालयसहितका सार्वजनिक संरचनामा हावाहुरीले क्षति पुऱ्याउँदा ७५ लाख ५० हजार रुपियाँ बराबरको नोक्सानी भएको प्रारम्भिक विवरण सङ्कलन गरिएको प्रनाउ गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाको पूर्वी क्षेत्र सिदिङ्वा गाउँपालिकामा हावाहुरीले बढी क्षति गरेको छ ।सो गाउँपालिका(२, सादेवास्थित पुरानो वडा कार्यालय भवनको छाना हावाहुरीले उडाउँदा ५० लाख रुपियाँ बराबरको क्षति हुन पुगेको प्रहरीले तथ्याङ्क सङ्कलन गरेको छ ।

सोही वडाको नयाँ भवनसँगै रहेको खाद्यान्न पिस्ने मिलको छाना हावाहुरीले उडाउँदा करिब दुई लाख रुपियाँ बराबरको क्षति भएको वडाध्यक्ष पूर्णबहादुर लिम्बूले जानकारी दिनुभयो ।

यस्तै सिदिङ्वा गाउँपालिका-३, आङ्खोपमा स्थानीय राजन बराइलीको जस्तापाताले छाएको घरको छाना हावाहुरीले उडाउँदा एक लाख ५० हजार रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

सोही गाउँपालिका-५, लिम्बूदिनस्थित याङ्खापाका विराज इधिङ्गोको कच्ची घरको फुसको छाना उडाउँदा दुई लाख रुपियाँ बराबरको क्षति भएको छ ।

याङ्खापाकै रत्नबहादुर इधिङ्गोको घरको फुस ९खर० को छाना हावाहुरीले उडाउँदा दुई लाख रुपियाँ बराबरको क्षति हुन पुगेको प्रहरीले जनाएको छ ।

लिम्बूदिनका वडाध्यक्ष अमरबहादुर लिम्बूका अनुसार हावाहुरीका कारण सिमल र बरको रूख ढलेर चुङबुङ टोलका टीका राईको घरमा क्षति पुगेको छ ।

सोही ठाउँमा रहेको अम्बिका आधारभूत विद्यालयको शौचालयसमेत क्षति पुगेको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो । सिदिङ्वा गाउँपालिका-६, मेहेलेमा स्थानीय चन्द्रबहादुर कामी, रूपमाया राई, देवीप्रसाद गौतम र मनकुमार राईको घरमा हावाहुरीले क्षति गरेको छ ।

त्यस्तै सोही वडाका अमृत लिङ्देन, सञ्जीव राई र कलादेवी राईको घरमा समेत हावाहुरीले क्षति गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उहाँहरू सबैको जस्तापाता र फुसले छाएको घरको छाना हावाहुरीले उडाउँदा पाँच लाख ८० हजार रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मेहेलेमै केशरमान राई र सुजन राईको स्मृतिमा निर्माण गरिएको पक्की धर्मशाला ९विश्रामस्थल० हावाहुरीका कारण रूख ढलेर भत्किँदा तीन लाख रुपियाँ बराबरको क्षति भएको छ ।

सोही गाउँपालिका-७, सुरुम्खिममा स्थानीय फूलमाया गुरुङ र मानबहादुर कामीको जस्तापाता छाएको घरको छाना तथा लक्ष्मण पाँचकोटीको फुसले छाएको घरको छाना हावाहुरीले उडाउँदा सात लाख १० हजार रुपियाँ बराबरको क्षति हुने पुगेको प्रहरीले विवरण सङ्कलन गरेको छ ।

यसैगरी जिल्लाको पाथीभरा याङ्वरक गाउँपालिका–५, चाक्सिबोटेको फाक्से दोभानका हर्कबहादुर तामाङको घरको छाना हावाहुरीले उडाएर क्षति पुऱ्याउँदा एक लाख ५० हजार रुपियाँ बराबरको नोक्सानी भएको छ ।

त्यस्तै आठराई त्रिवेणी गाउँपालिका–३, हाङ्पाङका धनबहादुर बराइलीको कच्ची घरको छाना हावाहुरीले उडाउँदा ४० हजार रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर