

काठमाडौं – ए डिभिजन क्लबहरूले रिले अनशन तेस्रो दिन पनि जारी राखेका छन् ।

नेपाल फुटबल खेलाडी संघसँग सहिद स्मारक ए डिभिजन लिग फुटबल गर्न सम्झौता गरेपछि रुष्ट ए डिभिजन क्लबहरूले अनशन गरेका हुन् ।
क्लबहरूले ‘होम एन्ड अवे’को आधारमा ए डिभिजन लिग हुनुपर्नेदेखि लिएर विभिन्न सातबुँदे माग राखेर अनशन जारी राखेका हुन् ।

ल्ःद्य द्यबलप
हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाले माग पूरा नभएसम्म अनशन जारी राख्ने बताए ।
उनले भने, “फुटबल विकासका अनेक मुद्दाहरूमा हामीले पटकपटक विषय उठान गर्यौँ । कति सहमतिहरू भए । तर, त्यो व्यवहारमा कहिले पनि कार्यान्वयन हुन सकेन। त्यसैले हामी अहिले निर्णायक आन्दोलनमा छौँ ।”
अनशनमा ए डिभिजनका क्लबलगायत बी डिभिजनका क्लबहरूले पनि साथ दिइहरेको अध्यक्ष शेर्पाको भनाइ छ ।
दुई दिनअगाडि सातबुँदे माग राखेर एन्फा जाँदा क्लबका पदाधिकारीहरूलाई प्रहरीले गेटमा नै रोकेका थिए ।
तर, दुई घण्टा लामो अवरोधपछि क्लब र एन्फाका कर्मचारीबीच वार्ता भएको थियो । तर, एन्फाका कर्मचारीबाट माग पूरा हुन नसक्ने देखिएपछि क्लबले अनशन सुरु गरेका हुन् ।
एन्फाले यही चैत्र ३० गतेबाट सहिद स्मारक ए डिभिजन लिग गर्ने भनी नेपाल फुटबल खेलाडी संघसँग सम्झौता गरेको थियो ।


