Aamsanchar

मेचीनगरमा बेथिति : अपरेटर भान्से, निर्णय अघि नै नियुक्ति !

Author Image
बुधवार, चैत ४, २०८२

बिर्तामोड । झापाको मेचीनगर नगरपालिका भित्र देखिएको पछिल्लो बेथितिले स्थानीय सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ । सहिदमार्गजस्तो ‘गौरवको आयोजना’ निर्माणमा ढिलाइले आलोचना खेपिरहेको नगरपालिकामा अहिले कर्मचारी व्यवस्थापनकै नाममा भइरहेको मनपरीले थप विवाद चुलिएको हो ।

नगरपालिकाको रोलर (हेभी इक्विपमेन्ट) सञ्चालनका लागि दैनिक ज्यालादारीमा नियुक्त गरिएको एक व्यक्तिलाई अहिले प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी को क्वाटरमा भान्सेको काममा लगाइएको खुलासा भएको छ । अपरेटरका रूपमा नियुक्ति दिएर भान्से बनाउनु प्रशासनिक विकृति मात्र नभई श्रम शोषणको स्पष्ट उदाहरण भएको कर्मचारीहरू नै बताउँछन्।

२०७९ फागुन १६ गतेको कार्यपालिका बैठकले रोलर सञ्चालनका लागि एक जनालाई नियुक्त गर्ने निर्णय गरेको भए पनि, स्रोतका अनुसार ती व्यक्तिलाई बैठकभन्दा चार दिनअघि नै काममा लगाइएको थियो। निर्णय प्रक्रियालाई नै उल्ट्याउने यस्तो अभ्यासले पारदर्शिता र विधिको शासनमाथि ठाडो चुनौती खडा गरेको देखिन्छ ।

झन् अचम्मको कुरा, रोलर गाडी केही समयमै बिग्रिएपछि ग्यारेजमै थन्किएको छ । अपरेटरका रूपमा नियुक्त व्यक्ति भने कहिले बारुणयन्त्र शाखामा ‘फायरमेन’, अहिले आएर प्रमुख प्रशासकीय अधिकृतकै घरमा भान्से। दक्षता, योग्यता र जिम्मेवारीबीच कुनै सम्बन्ध नराखी गरिएको यस्तो हेरफेरले नगरपालिका भित्रको मानव संसाधन व्यवस्थापन कति अस्तव्यस्त छ भन्ने प्रष्ट पार्छ ।

एक अधिकृत तहका कर्मचारी भन्छन्, “अपरेटरमा नियुक्त गर्ने अनि काम चाहिँ भान्सेको दिने—यो त सोझै अख्तियार दुरुपयोग हो।” उनका अनुसार यसले कामदारमाथि अन्याय मात्र नभई भविष्यसमेत अन्योलमा पार्ने अवस्था सिर्जना गरेको छ ।

यति मात्र होइन, नगर प्रहरीमा नियुक्त गरिएको व्यक्तिलाई जिन्सी शाखाको जिम्मेवारी दिइएको समेत आरोप छ । यसले मेचीनगरमा ‘जसलाई जे मन लाग्यो, त्यही जिम्मेवारी’ दिने प्रवृत्ति संस्थागत बन्दै गएको संकेत गर्छ ।

सहिदमार्ग निर्माणमा भएको ढिलाइ, उपकरण व्यवस्थापनमा लापरवाही र कर्मचारीको दुरुपयोग—यी सबै घटनाले मेचीनगर को प्रशासनिक अनुशासनमाथि गम्भीर प्रश्न खडा गरेका छन्। स्थानीय सरकार पारदर्शिता, जवाफदेहिता र सुशासनको उदाहरण बन्नुपर्नेमा उल्टै बेथिति र मनपरीको केन्द्र बन्दै गएको आरोप बढ्दो छ ।

Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर