

काठमाडौंः युरोपको प्रतिष्ठत फुटबल लिग युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल समीकरण पूरा भएको छ।

बुधबार राति बाँकी रहेका दोस्रो लेगका खेलहरु सम्पन्न भएसँगै अन्तिम ८ मा पुग्ने टोलि सबैको टुंगो लागेको हो।
जसअन्तर्गत इंग्लिस क्लब लिभरपुलले टर्कीस क्लब गालाटासारेलाई ४–० ले हराउँदै समग्रमा ४–१ को नतिजासहित क्वाटरफाइनलमा स्थान बनायो। घरेलु टोलिको जितमा डोमिनिक सोबोज्लाई, ह्युगो एकिटिके, रायन ग्राभेनवेर्च र मोहम्मद सलाहले गोल गरे।

अर्को खेलमा स्पेनिस क्लब बार्सिलोनाले इंग्ल्यान्डको न्युक्यासललाई ७–२ को फराकिलो गोलअन्तरले हराउँदै समग्रमा ८–३ को नतिजासहित क्वाटरफाइनलमा प्रवेश ग¥यो। घरेलु टोलिको जितमा राफिन्हा र रोबर्ट लेवान्डोस्कीले दुई–दुई तथा लामिन यामल, मार्क वेर्नल र फेर्मिन लोपेजले एक–एक गोल गरे।
अर्को खेलमा जर्मनको बायर्नले इटालियन क्लब एटलान्टालाई ४–१ ले हराउँदै समग्रमा १०–२ को भारी गोलअन्तरले क्वाटरफाइनलमा स्थान बनायो। घरेलु मैदान एलियान्ज एरेनामा ह्यारी केनले पेनाल्टीसहित दुई तथा लेन्नत कार्ल र लुइस डियाजले एक–एक गोल गरे।
यसैगरी, अर्को खेलमा इंग्लिस क्लब टोटेनहमले स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई ३–२ ले हराए पनि समग्रमा ५–७ ले पछि पर्यो भने एट्लेटिको क्वाटरफाइनलमा प्रवेश गर्यो। टोटेनहमका लागि जाभी सिमोन्सले दुई तथा कोलो मोनीले एक गोल गरे। एट्लेटिकोका युलियन अल्भारेज र डेभिड हान्कोले एक–एक गोल गरे।
योसँगै सेमिफाइनल प्रवेशका लागि अब रियल मड्रिड र वार्यन म्युनिख, स्पोर्टिङ लिस्बन र आर्सनल, बार्सिलोना र एट्लेटिको मड्रिड तथा पिएसजी र लिभरपुलले प्रतिस्पर्धा गर्नेछन्।


