

काठमाडौं – विशेष महाधिवेशनबाट कांग्रेसको सभापति बनेका गगन थापाले पदबाट राजीनामा दिएका छन्। प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेस सीमित सिटमा खुम्चिएको र थापा पनि पराजित भएपछि उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा दिएका हुन्।

कांग्रेसका एक पदाधिकारीले सभापति थापाले उपसभापति शर्मासमक्ष राजीनामा पेश गरिसकेकाले बैठकमा छलफल हुने बताए। उनले भने, ‘सभापति गगन थापाले उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा दिनुभएको हो। शुक्रबार केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ। त्यहीँ स्वीकृत हुने-नहुने निर्णय हुन्छ।’
शर्मा निकट स्रोतका अनुसार अनौपचारिक छलफलमा शर्माले सभापतिलाई राजीनामा नदिन आग्रह गरेको तर नमानेपछि उक्त राजीनामा पत्रलाई आगामी केन्द्रीय समिति बैठकमा पेश गर्ने तयारी छ। थापाले दिएको राजीनामा पत्र भने कांग्रेसले सार्वजनिक गरेको छैन।

यता, कांग्रेसको थोरै सिट र थापासमेत सर्लाहीबाट पराजित भएपछि नियमित महाधिवेशन पक्षधरले मतगणना चलिरहँदा देखिनै तत्काल राजीनामा दिनुपर्ने भन्दै आलोचना बढेको थियो।
कांग्रेसको विधानमा केन्द्रीय सभापतिले राजीनामा दिन चाहेमा उप–सभापतिमार्फत केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्नुपर्ने उल्लेख छ। केन्द्रीय कार्यसमितिले राजीनामा स्वीकृत गरेमा उप–सभापतिले कार्यवाहक सभापति भई कार्यभार सम्हाल्नेछ र छ महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाई केन्द्रीय सभापतिको निर्वाचन गरिनेछ।


