

काठमाडौं – विभिन्न व्यक्तिहरुको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ्ग केन्द्रहरू, क्यासिनोहरूमा अनलाईन ठगी तथा अन्य विभिन्न गैरकानुनी काममा लगाइएका साथै कम्बोडियामा बिना भिषा बसिरहेका २० जना नेपालीहरु नेपाली राजदुतावास बैंककको पहल र कम्बोडियाको सरकारको सहयोगमा उद्दार गरेर स्वदेश फर्काइएको छ ।

गैर आवाशीय नेपाली संघ, कम्बोडियाको सहजीकरणमा आज त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलमा अवतरण गर्ने गरी नेपाल फर्काईएको हो।
यसैगरी अलपत्र परेका वा कठिन परिस्थितीमा रहेका अन्य नेपालीहरूलाई नेपाल फर्काउने पहल भइरहेको छ।

कम्बोडियामा नेपाली नागरिकहरु अनलाईन ठगी लगायत गैर कानुनी काममा लगाईएको र बिना भिषा वा भिषा–अवधीभन्दा बढि समय बसिरहेको जानकारी राजदुतावासलाई प्राप्त भएको छ।
कम्बोडियामा यस्तो अवस्थामा बसिरहेका नेपाली नागरिकहरुलाई नेपाल फर्कन सहजिकरणका लागि नेपाली राजदुतावास बैंकक वा गैर–आवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिहरु शिवराज पराजुली, लालसिहं खडका र रामजी कुमार छेत्रीलाई सम्र्पक गर्न अनुरोध गरिएको छ।
कम्बोडियाको तथ्याङ्क अनुसार पछिल्लो समय सन् २०२१ मा १०१ जना नेपालीहरु भ्रमण भिसामा कम्बोडिया गएकोमा सन् २०२२ मा १९७७ जना, सन् २०२३ मा २९४० जना, सन् २०२४ मा ६४०४ जना तथा सन् २०२५ मा ९६७ जना नेपालीहरु कम्बोडिया गएको देखिन्छ।


