Aamsanchar

कोशीका अस्पतालमा रगत अभाव

Author Image
बिहिवार, चैत ५, २०८२

विराटनगर – मोरङको सुन्दरहरैचाका ५२ वर्षीय रमेश थापालाई आफन्तको आकस्मिक शल्यक्रियाका लागि ‘एबी पोजेटिभ’ रगत अत्यावश्यक थियो। चिकित्सकले तत्काल रगतको खोजी गर्न भने। रक्तसञ्चार केन्द्रमा सम्पर्क गर्दा त्यहाँ मौज्दात नभएपछि उनी रक्तदाताको खोजीमा भौँतारिए।

‘चिकित्सकले तुरुन्तै रगत चाहिन्छ भन्नुभयो, तर रक्तसञ्चार सेवा केन्द्रमा रगत अभाव छ भन्ने जानकारी पाएँ’, थापाले भने, ‘त्यसपछि हामीले सामाजिक सञ्जाल फेसबुकमा रगतको व्यवस्थापनका लागि सन्देश हाल्यौँ, साथीभाइलाई फोन गर्‍यौँ, तर समयमा रगत पाउन निकै गाह्रो भयो। रगत खोज्दै दौडधुप गर्दा निकै तनाव भयो। सबैभन्दा ठूलो डर बिरामीको ज्यानको हुने रहेछ।’

कोशी अस्पतालमा उपचारका लागि आएका अर्का एक बिरामीका आफन्तले पनि यस्तै समस्या सुनाए। ‘अस्पतालमा रगतको व्यवस्था होला भन्ने सोचेका थियौँ’, उनले भने, ‘तर अन्तिममा आफैँले खोज्नुपर्दा निकै अप्ठ्यारो भयो। यस्तो अवस्थामा बिरामीको परिवार झन् मानसिक दबाबमा पर्ने रहेछ।’

रमेशको जस्तै अवस्था अहिले कोशी प्रदेशका प्रमुख अस्पतालहरूमा उपचार गराइरहेका सयौँ बिरामीका परिवारले भोगिरहेका छन्। आकस्मिक उपचारका लागि आवश्यक रगत सहज रूपमा उपलब्ध नहुँदा बिरामीका आफन्त आफैँ रक्तदाता खोज्न बाध्य छन्।

रगत अभावको समस्या पछिल्लो समय झन् गम्भीर बन्दै गएको छ। आकस्मिक शल्यक्रिया, दुर्घटना तथा प्रसूतिजस्ता अवस्थामा तत्काल रगत आवश्यक पर्ने हुँदा समयमा उपलब्ध नहुँदा बिरामीको ज्यान जोखिममा पर्ने चिकित्सकहरू बताउँछन्।

कोशी प्रदेशका सरकारी तथा निजी अस्पतालमा आवश्यक परिमाणमा रगत उपलब्ध नहुँदा आकस्मिक अवस्थामा बिरामीका आफन्त आफैँ रक्तदाता खोज्न सडक र ‘फेसबुक’का भित्ताहरूमा निस्कनुपर्ने अवस्था दिनप्रतिदिन बढेको छ। रगत व्यवस्थापनको यो चुनौती अहिले गम्भीर समस्याका रूपमा देखिएको हाम्रो अस्पताल विराटनगरका सञ्चालकसमेत रहेका निजी अस्पताल एसोसिएसन ९अफिन० का अध्यक्ष डा शङ्करप्रसाद अधिकारीले बताए।

उनका अनुसार रक्तसञ्चार सेवा केन्द्रहरूमा रगतको पर्याप्त भण्डारण ९स्टोरेज० नहुँदा अस्पतालहरूले आकस्मिक बाहेकका बिरामीका आफन्तलाई आफैँ रगत व्यवस्थापन गर्न वा साट्न ९एक्सचेन्ज० आग्रह गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको हो।

‘अहिलेको अवस्थामा अस्पतालहरूले ‘सब्स्टिच्युट’ वा साटासाटको अवधारणा अपनाउनुपरेको छ’, डा। अधिकारीले भने, ‘यदि बिरामीलाई चाहिएको निश्चित समूहको रगत उपलब्ध छैन भने, अर्को कुनै पनि समूहको रगत दिएर साट्न सकिने व्यवस्था मिलाइएको छ ताकि रगतकै अभावमा उपचार नरोकिने वातावरण बनोस्।’

बिरामीका आफन्तले रगत व्यवस्थापन गर्दा अस्पताल व्यवस्थापनलाई केही सहज भए पनि सडक दुर्घटना ९आरटीए० जस्ता तत्काल रगत चाहिने आकस्मिक अवस्थामा भने अझै पनि ठूलो जोखिम र चुनौती कायम रहेको उनको बुझाइ छ ।

क्षेत्रीय स्तरमा रगतको केन्द्रीकृत व्यवस्थापन ९सेन्ट्रलाइज्ड म्यानेजमेन्ट० हुनुपर्नेमा डा अधिकारीले जोड दिए। धेरैजसो साना अस्पतालहरूमा आफ्नै ‘ब्लड बैङ्क’ नहुने र उनीहरू रेडक्रस, नोबेल वा विराटनगरका ठूला संस्थामा निर्भर रहनुपर्ने बाध्यता छ । ‘सबै साना अस्पतालमा ब्लड बैङ्क राख्दा रगत खपत नभए खेर जाने जोखिम रहन्छ’, उनले भने, ‘त्यसैले एउटै बलियो र केन्द्रीकृत व्यवस्थापन बढी प्रभावकारी हुन्छ।’

विराटनगरस्थित प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशी अस्पतालमा बिरामीको चापसँगै उपचारमा आउनेले दैनिक रगतको अभावको समस्या भोग्नु परेको स्त्री तथा प्रसूति रोग विभागकी प्रमुख डा। अन्जु देवले जानकारी दिइन्। प्रसूति र सर्जरी सेवा अत्यन्तै आपत्कालीन हुने भएकाले रगत अभाव हुँदा यो विभाग सबैभन्दा बढी समस्यामा पर्ने गरेको उनले बताइन्।

Views: 5

प्रतिक्रिया (०)

सम्बन्धित खबर