Aamsanchar

आहालेदेखि पञ्चमीबजार जोड्ने सडक कालोपत्र हुने

Author Image
बिहिवार, चैत ५, २०८२

खोटाङ- खोटाङको खानीडाँडा विमानस्थलदेखि याम्खा–याङसोलाटार हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र हुने भएको छ । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगत पूर्वाधार विकास कार्यालय खोटाङमार्फत सडक कालोपत्रको काम सुरु गरिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित खानीडाँडा विमानस्थलभन्दा केहीमुनि पर्ने आहालेदेखि दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाको रातमाटा–दिप्रुङ चुईचुम्मा गाउँपालिकाको कार्यालय हुँदै दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीको पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु गरिएको हो ।

पहिलो चरणमा खानीडाँडा–पञ्चमीबजार सडक खण्डको आहाले–याम्खा ८.०२ किलोमिटर खण्ड कालोपत्रको काम सुरु गरिएको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख इन्जिनियर बिनम दाहालले बताए । सडक कालोपत्रे आयोजना चैत ५ गते कोशी प्रदेशका पुर्व भौतिक पूर्वाधार विकास एबं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले शिलान्यास गरेका छन् ।

निर्माण कम्पनी युएसजी–रक्तकन्या–हिमशृङ्खला जेभी काठमाडौंले भ्याट र पिएससहित १७ करोड ३७ लाख ८२ हजारमा कालोपत्रे सक्नेगरि आहाले–याम्खा प्याकेजको ठेक्का लिएको हो । सो निर्माण कम्पनीले आगामी २०८४ माघ १७ गतेसम्ममा सक्नेगरि गत माघ १८ गते ठेक्का सम्झौता गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । सडकमा कटिङ, पक्की नाली निर्माण, रिटेनिङ वाल, जाली, पाइप, कल्भर्ट, सडक ढलान र अस्फाल्ट कालोपत्र गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

बहुवर्षीय योजना अन्तरगत आहाले–याम्खा खण्ड कालोपत्रेका लागि चालु आर्थिक वर्ष ५ करोड बजेट विनियोजन गरिएको छ । आहाले–याम्खा–पञ्चमीबजार सडकको दोश्रो प्याकेजका लागि ठेक्का प्रक्रिया अघि बढाइएको इन्जिनियर दाहालले बताए । कोशी प्रदेश सरकारले गत भदौ ३ गतेको बैठकबाट आहाले–याम्खा–पञ्चमीबजार सडकलाई वहुवर्षीय आयोजनाको रूपमा स्वीकृत गरेको थियो ।

Views: 20

प्रतिक्रिया (०)

सम्बन्धित खबर