Aamsanchar

दुर्गा माध्यमिक विद्यालयकाे ७०औँ वार्षिकोत्सव सम्पन्न, दाता सम्मान तथा पुरस्कार वितरण

Author Image
बिहिवार, चैत ५, २०८२

झापा- बिर्तामोड नगरपालिका–९ स्थित दुर्गा माध्यमिक विद्यालयले आफ्नो ७०औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ। अभिभावक भेला, दाता सम्मान तथा पुरस्कार वितरण कार्यक्रमसहित आयोजित समारोह बिहीबार सम्पन्न भएको हो।

वार्षिकोत्सवका अवसरमा विद्यालय परिसरमा निर्माण गरिएको मुख्य प्रवेशद्वार विद्यालयलाई हस्तान्तरण गरिएको छ। हल्दीबारी गाउँपालिका–४ निवासी यमुना भण्डारी, उमानाथ भण्डारी र गीता देवी तिम्सिनाले प्रवेशद्वार हस्तान्तरण गरेका हुन्। शिक्षक उमानाथ भण्डारी र उनको परिवारको करिब ३ लाख २ हजार रुपैयाँको लागतमा उक्त संरचना निर्माण गरिएको विद्यालयले जनाएको छ। निर्माणकर्ताहरूलाई विद्यालयले सम्मानपत्र प्रदान गरेको थियो।

समारोहमा भूपेन्द्र राउत, शान्ता बराल पौडेल र भूपेश मर्डी उत्कृष्ट शिक्षक सम्मानबाट पुरस्कृत भए। सम्मानस्वरूप उनीहरूलाई नगद १० हजार रुपैयाँ, सम्मानपत्र तथा दोसल्ला प्रदान गरिएको थियो।

यसैगरी, युवा सञ्चारकर्मी भरत प्रसाईं उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानित भए। शिक्षक सेवा आयोग उत्तीर्ण गरी अन्य विद्यालयमा सरुवा भएका भुवन पौडेललाई विदाइ गरिएको थियो।

उत्कृष्ट विद्यार्थी सम्मानबाट कक्षा ९ की छात्रा जानुका मगर पुरस्कृत भइन् भने उत्कृष्ट अभिभावक सम्मान ढाकादेवी सुवेदीलाई प्रदान गरिएको थियो। छात्रवृत्ति कोषमार्फत दुई दर्जनभन्दा बढी विद्यार्थी पुरस्कृत भएका छन्।

विद्यालयको पुनर्निर्माण तथा शैक्षिक गुणस्तर सुधारका लागि सञ्चालित “ह्याप्पी स्कुल प्रोजेक्ट” मा सहयोग पुर्‍याउने विभिन्न संघसंस्था र व्यक्तिहरूलाई पनि सम्मान गरिएको थियो।

बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तिलचन भण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक लक्ष्मण शिवाकोटीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन शिक्षक धर्मेन्द्र भट्टराई र धनकुमारी खरेलले गरेका थिए।

कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक नृत्य तथा गीत प्रस्तुत गरेका थिए भने स्काउट टोलीले आकर्षक मार्चपास प्रदर्शन गरेको थियो।

Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर