Aamsanchar

कोशी प्रदेशमा तीव्र हावाहुरीको त्रास, जनजीवन प्रभावित हुन सक्ने आकलन

Author Image
शुक्रवार, चैत ६, २०८२

विराटनगर – कोशी प्रदेशमा सम्भावित मौसमीय विपद्को जोखिम रहेको भन्दै सरकारी तथा स्थानीय संयन्त्रहरू सक्रिय बनेका छन्। तीव्र हावाहुरीको पूर्वानुमानसँगै सरोकारवाला निकाय तयारीमा जुटेका हुन्। शनिबार हावाहुरी, वर्षा, असिना र चट्याङको संयुक्त असर देखिने पूर्वानुमानसँगै जनजीवन प्रभावित हुन सक्ने आकलन गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाद्वारा जारी सूचनामा नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो। त्यस्तै, सुनसरीको धरान उपमहानगरपालिकाले पनि चेतावनीपूर्ण सूचना जारी गर्दै नगरवासीलाई सुरक्षित रहन आह्वान गरेको छ। धनकुटा जिल्लामा पनि प्रशासनले सार्वजनिक सूचना निकालेर जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्न भनेको छ।

कोशीमा तीव्र हावाहुरीको सम्भावित त्रास फैलिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशका विभिन्न क्षेत्रमा शनिबार तीव्र हावाहुरी र मेघगर्जनसहित वर्षा हुने प्रक्षेपण गरेपछि सुरक्षा निकायहरू समेत सतर्क अवस्थामा राखिएका छन्।

 

कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाले प्रदेशका १४ वटै जिल्लामा रहेका प्रहरी इकाइहरूलाई तयारी अवस्थामा राखिएको जानकारी दिए। सम्भावित विपद्को सामना गर्न उद्धार तथा राहतका लागि आवश्यक जनशक्ति र साधन व्यवस्थापन गरिएको थापाको भनाइ छ।

मौसम पूर्वानुमान महाशाखाले विशेष गरेर प्रदेश राजधानी विराटनगर, सुनसरको धरान र धनकुटामा तीव्र हुरी चल्ने पूर्वानुमान गरेको हो। सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय तहहरूले जनचेतना अभिवृद्धिका लागि माइकिङ, सूचना प्रवाह र सामाजिक सञ्जालमार्फत सन्देश प्रसारणलाई तीव्र बनाएका छन्। नागरिकलाई अनावश्यक रूपमा बाहिर ननिस्कन, सुरक्षित स्थानमा बस्न र जोखिमयुक्त संरचना तथा स्थानबाट टाढा रहन आग्रह गरिएको छ।

यातायात क्षेत्रमा समेत सतर्कता बढाउन भनिएको छ। चालकहरूलाई मौसम प्रतिकूल हुँदा सुरक्षित स्थानमा सवारीसाध रोकेर मात्र अगाडि बढ्न आग्रह गरिएको कोशी प्रदेशका ट्राफिक प्रहरी प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठले बताए।
सम्भावित जोखिमका विषयमा शुक्रबार कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा शुक्रबार सरोकारवाला निकायको बैठकसमेत बसेको छ। बैठकमा सबैलाई सावधानी अपनाउन आग्रह गर्ने, सुरक्षाकर्मी र स्थानीय तहसहित सबै सरोकारवाला निकायलाई तयारी अवस्थामा राख्ने र जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखेर प्रचारप्रसारलाई तीव्र पार्ने विषयमा छलफल भएको थियो।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले मौसमजन्य विपद्लाई ध्यानमा राखेर सबै निकाय चनाखो रहेहको बताए। सम्भावित विपद्पछिको उद्धार र रातहका लागि सबै पक्षलाई तयारी अवस्थामा राखिएको जानकारी उनले दिए। ‘मन्त्रालयले मौसमजन्य विपद्को प्रतिकार्य योजना तयार पारेको छ। त्यही अनुसार सबै निकायको समन्वयमा काम हुनेछ,’ मन्त्री पराजुलीले भने।

मन्त्री पराजुलीले विशेषगरी खुला ठाउँ, अग्ला रुख, बिजुलीका पोल र टावर आसपास नबस्न तथा चट्याङबाट बच्नका लागि सावधानी अपनाउन सबैलाई सुझाव दिएका छन्। पछिल्ला दिनहरूमा देशका विभिन्न भागमा हावाहुरीका कारण क्षति बढिरहेको सन्दर्भमा अहिले चेतावनीलाई गम्भीर रूपमा लिन उनको आग्रह छ। ‘समयमै अपनाइएको सावधानी र तयारीले ठूलो क्षति हुन पाउँदैन,’ मन्त्री पराजुलीले भने, ‘यसमा सबैभन्दा महत्वपूर्ण भूमिका नागरिकको नै हुन्छ।’

Views: 83

प्रतिक्रिया (०)

सम्बन्धित खबर