

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेउपुर, नाला तथा पनौती क्षेत्रमा हाल किसान धमाधम आलु खनिरहेका छन्।

खेतका गराभरि आलुका बोरा ठडिएका र सडक छेउमा आलुको चाङका दृश्य देखिन्छन् तर किसान भने खुसी छैनन्। आलुको बजार मूल्य खस्किँदो त छँदै छ, खेतबारीमै पुग्ने व्यापारी पनि आउन छाडेका छन्। हाल यहाँ आलु प्रतिकिलो सातदेखि १० रूपैयाँसम्म झरेको छ।
“आलुको भाउ घटेकै छ, तर पनि बिक्री भइरहेको छैन। विगतमा खेतबारीमा आइपुग्ने व्यापारीलाई आफैँ बोलाएर आलु लैजान भन्नुपर्ने बाध्यता छ”, पाँचखाल नगरपालिका–६ ढुङ्गानाबेँसीका किसान रामेश्वर सापकोटाले गुनासो गरे।

गत हप्ता १० देखि रु १५ सम्म बिक्री भएको आलु हाल सातसम्म झरेको छ। यसले स्थानीय किसानहरू निकै चिन्तित छन्। सापकोटा भन्छन्, “मूल्य नपाएपछि बारी खन्ने कि नखन्ने भनेर अलमलमा छौँ। खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ।”
यस वर्ष आलुको मूल्य निकै खस्केकाले किसानको लागतसमेत उठ्न हम्मे–हम्मे भएको छ। अगुवा किसान सापकोटाका अनुसार केही किसानले आफैँ काठमाडौँको कालीमाटीस्थित तरकारी बजार लैजाँदा पनि आलु बिकेको छैन। आफ्नो मूल्यभन्दा पनि व्यापारीकै भाउमा छाडेर आउनुपर्दा लगानी जोखिममा परेको छ।
स्थानीय किसानका अनुसार अन्य बालीको तुलनामा आलु खेतीमा लागत खर्च बढी हुने गरेको छ। जमिन तयारी, प्राङ्गारिक तथा रासायनिक मल, आलुको बीउ, सिँचाइ, औषधि तथा जनशक्ति खर्च हिसाब प्रतिकेजी करिब १८ देखि २० सम्म खर्च हुन्छ।
विगतका वर्षमा यही समयमा प्रतिकेजी २८ देखि ३५ सम्म बिक्री हुने गरेको थियो। स्थानीय विजय पराजुलीले भन्छन्, “छिप्पेको आलु नखन्दा खेतमै कुहिने डरले घाटा खाएरै भए पनि व्यापारीलाई प्रतिकेजी १० सम्ममा आलु बेचिरहेका छौँ।”
पाँचखाल नगर कृषि शाखाका अनुसार नगर क्षेत्रमा करिब ७० हजार रोपनी क्षेत्रफलमा आलुखेती गरिन्छ। शाखा प्रमुख हेमन्त पौडेलले पाँचखालमा वार्षिक करिब ९० हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन हुने गरेको जानकारी दिए।
उनका अनुसार यस वर्ष बजार मूल्य घटेका कारण किसानले कुल लागत मूल्यको तुलनामा करिब ६३ करोड ७० लाखको हाराहारीमा आम्दानी गुमाउने अनुमान गरिएको छ।


