

तानसेन – पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या चार पुगेको छ ।

पाल्पा प्रहरीका अनुसार माथागढी गाउँपालिका–७ रहबासस्थित झडेवा–रहबास भित्री कच्ची सडकखण्डमा बेलुकी करिब ६ बजे घटेको दुर्घटनामा गम्भिर घाईते भएका तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचारका क्रममा मृत्यु भएको हो । योसँगै ज्यान गुमाउनेको संख्या चार पुगेको हो ।
यसअघि मृत्यु हुनेमा अर्घाखाँचीको शीतगंगा नगरपालिका–४ सिद्धारका २६ वर्षीय चिन्ता बहादुर सुनार, सोही ठाउँकै २६ बषिय सुनिल वि।क। र रुपन्देही देवदह नगरपालिका –२ खैरेनीका २६ बषिय सुनिल नेपाली रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक होम प्रकाश चौधरीले पुष्टि गरेका छन ।

पाल्पा प्रहरीका अनुसार शनिबार बेलुकी करिब ६ बजे लु २ ख ४५२५ नम्बरको टिपर दुर्घटना भएको हो । सो टिपर झडेवाबाट रहबास चुनढुंगा खानीतर्फ जाँदै गर्दा सडकबाट करिब ५० मिटर तल खसेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका चार जनामध्ये तीन जनालाई उपचारका लागि तत्काल लुम्बिनी मेडिकल प्रभास पठाइएको थियो । उपचारका क्रममा तीन जना पुरुषलाई त्यतिबेलै चिकित्सकले मृत घोषणा गरेका थिए । चिदीलाई भने थप उपचारका लागि भैरहवा मेडिकल कलेज रुपन्देहीमा पठाइएकोमा उनको पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए।


