झापा । नेपालमा पछिल्लो समय मखना (फक्स नट) खेतीतर्फ किसानहरूको आकर्षण बढ्दै गएको छ। पानी जम्ने तथा परम्परागत रूपमा उपयोगविहीन रहेका जमिनलाई उत्पादनमूलक बनाउने विकल्पका रूपमा मखना खेती उदाउँदै गएको हो।

वैज्ञानिक रूपमाEuryale ferox भनिने मखना विशेषगरी तराईका जिल्लाहरू झापा, मोरङ, सुनसरी र सप्तरीमा परीक्षण तथा व्यावसायिक रूपमा विस्तार हुँदै गएको कृषि विज्ञहरू बताउँछन्।

मखना खेतीका लागि स्थिर पानी हुने खेत वा पोखरी आवश्यक पर्ने भएकाले वर्षायाममा पानी जम्ने क्षेत्रहरू यसको लागि उपयुक्त मानिन्छ। चैत–बैशाख महिनामा बीउ रोपेर सुरु गरिने खेती ४ देखि ५ महिनामा उत्पादन दिन थाल्छ। यसको बीउ पानीमुनि तयार हुने भएकाले विशेष तरिकाले संकलन गर्नुपर्ने हुन्छ।
कृषि विज्ञहरूका अनुसार मखना पोषणका हिसाबले पनि निकै लाभदायक छ। प्रोटिन, क्याल्सियम र फाइबर प्रशस्त हुने भएकाले स्वास्थ्यप्रेमी उपभोक्तामाझ यसको माग बढ्दो छ। बजारमा राम्रो मूल्य पाइने भएकाले प्रशोधनपछि अझ बढी आम्दानी लिन सकिने सम्भावना रहेको बताइन्छ।



यद्यपि, प्रविधि र तालिमको अभाव, बीउ तथा प्रशोधन प्रणालीको कमी र बजार व्यवस्थापनका चुनौतीहरू अझै रहेका छन्। सम्बन्धित निकायले आवश्यक सहयोग, तालिम र नीति निर्माणमा ध्यान दिए मखना खेतीले नेपाली कृषिमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ। झापाको कचनकवल गाउँपालिका मा पहिलो पटक २५ विघा क्षेत्रफलमा यो खेती गर्न अध्ययन सुरु भएको छ ।


