Aamsanchar

सेताम्मे देखिए ताप्लेजुङका डाँडाकाँडा

Author Image
आइतवार, चैत ८, २०८२

फुङ्लिङ – दुई दिन वर्षा भएपछि मौसम सफा हुँदा ताप्लेजुङका डाँडाकाँडा सेताम्मे देखिएको छ ।

मैवाखोला गाउँपालिकाको तीजुरे–मिल्के–जलजले क्षेत्र हिउँले ढाकिएको देखिएको छ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघासहित कुम्भकर्ण, पाथीभरा र मानाभरा क्षेत्र पनि सेताम्मे बनेको छ । मौसम खुलेसँगै हिउँ खेल्न जाने आन्तरिक पर्यटकको संख्या पनि बढेको छ ।

ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा शुक्रबार (चैत ६) साँझदेखि बाक्लो हिमपात भएको हो । वर्षासँगै सुरु भएको हिमपातले जिल्लाका विभिन्न हिमाली भेग सेताम्मे छन् ।

फक्ताङ्लुङ गाउँपालिका–६, लेलेपस्थित घुन्सा, फले तथा वडा नम्बर–७ को ओलाङचुङगोला क्षेत्रमा उल्लेख्य हिमपात भएको छ ।

मिक्वाखोला गाउँपालिका–५ का तोक्पेगोला, मैवाखोला र आठराई त्रिवेणी गाउँपालिकाका माथिल्लो भेग, मिल्के–जलजले तथा सिदिङ्वा गाउँपालिकाको तिम्बुङ पोखरी क्षेत्रमा पनि बाक्लो हिमपात भएको स्थानीयले बताएका छन् ।

प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पनि हिमपात भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार, पाथीभराधामदेखि फेदीबजार हुँदै गुराँसेडाँडासम्म हिउँ जमेको छ ।

हिमपातसँगै जिल्लाका हिमाली बस्तीमा चिसो बढेको छ । विशेष गरी ओलाङचुङगोला, याङ्मा, फले र घुन्साजस्ता बस्तीमा चिसो बढेको स्थानीय फुटी शेर्पाले जानकारी दिए ।

Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर