झापा । बुद्धशान्ति गाउँपालिका–४ टिमाई क्षेत्रमा आइतबार बिहान देखिएको चितुवा अन्ततः सुरक्षाकर्मी र वन टोलीकै उपस्थितिमा भीडद्वारा कुटपिट गरी मारिएको छ । घटनाले नेपालमा जंगली जनावर संरक्षण र भीड नियन्त्रण क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ ।

स्थानीय कमल खड्काको मकैबारीमा बिहान करिब ८ बजे देखा परेको चितुवालाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालय झापा र कोशी टप्पु वन्यजन्तु आरक्षणबाट आएको प्राविधिक टोलीले बेहोस बनाउने सुई प्रयोग गरेको थियो। सुई लागेपछि चितुवा कमजोर बन्दै लड्न थालेको अवस्थामा थियो।

तर, सुरक्षाकर्मीले भीड नियन्त्रण गर्न नसक्दा केही स्थानीयले ढुङ्गा र बाँस प्रहार गर्दै चितुवामाथि आक्रमण गरे। अन्ततः बेहोस हुन लागेको अवस्थामा नै चितुवाको ज्यान लिइयो।
घटनाका क्रममा चितुवाले आक्रामक व्यवहार देखाउँदै केदार श्रेष्ठसहित चार जनालाई आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको छ । घाइतेहरूमा कृष्ण गजमेर, दुर्गा कटुवाल र विशाल कार्की पनि रहेका छन्। उनीहरूको भागिरथा न्यौपाने अस्पतालमा उपचार भइरहेको छ ।

उता, चितुवालाई उद्धार गरी संरक्षण गर्ने तयारीमा रहेको जामुनखाडी पर्यटकीय समितिको टोली घटनास्थल पुगे पनि चितुवा मारिएपछि निराश हुँदै फर्किएको छ । समितिका सचिव दीपक ओलीका अनुसार कानुनी प्रक्रिया पूरा गरी चितुवालाई जामुनखाडीस्थित मिनी चिडियाघरमा राख्ने तयारी भइरहेको थियो।
घटनापछि स्थानीय समाज दुई धारमा विभाजित देखिएको छ—कतिपयले ‘मानव सुरक्षाका लागि आवश्यक कदम’ भन्दै खुसी व्यक्त गरेका छन् भने अर्काे पक्षले ‘निर्दोष जंगली जनावरमाथि भीडको क्रूरता’ भन्दै कडा विरोध जनाएको छ ।
वन्यजन्तु विज्ञहरूका अनुसार, बेहोस पारिसकेपछि पनि चितुवाको हत्या हुनु गम्भीर लापरबाही मात्र होइन, कानुनी अपराधसमेत हो। जंगली जनावरलाई मार्नु अन्तिम विकल्प हुनुपर्नेमा यहाँ राज्य संयन्त्रकै उपस्थितिमा भीडले न्याय आफैं हातमा लिएको देखिन्छ।
मृत चितुवालाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय झापामा लगिएको छ । घटनाले नेपालमा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन, जनचेतना र सुरक्षा संयन्त्रको प्रभावकारितामाथि गम्भीर बहस जन्माएको छ ।


