काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र पछिल्लो समय बढ्दै गएको आन्तरिक असन्तुष्टिका बीच पार्टीका नेता पुष्पराज पुरुष ले पार्टी सुधार र भविष्यको दिशाबारे तीन विकल्प अघि सारेका छन्।सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पुरुषले धर्म र देशको पक्षमा इमान्दारीपूर्वक योगदान गर्ने कार्यकर्ताहरूका लागि अब राप्रपामा तीनवटा मात्र बाटो बाँकी रहेको बताएका हुन्।

उनका अनुसार पहिलो विकल्प भनेको पार्टीभित्रै सचेत विद्रोह गर्दै नीति तथा कार्यक्रम निर्माणमा सक्रिय सहभागिता जनाउने र नेतृत्व लिएर पार्टीलाई समयानुकूल पुनर्गठन गर्नु हो। त्यस्तै दोस्रो विकल्पमा उनले वर्तमान यथास्थितिलाई निरन्तरता दिन चाहने नेतृत्वलाई पार्टी जिम्मा लगाएर नयाँ नाम र चिन्हसहित नयाँ दल निर्माणतर्फ लाग्नुपर्ने उल्लेख गरेका छन्।

तेस्रो विकल्पका रूपमा उनले अहिलेको अवस्थालाई स्वीकार गर्दै ‘सबै ठीक छ’ भन्ने मानसिकतामा बस्ने र निष्क्रिय रूपमा समय बिताउने अवस्था रहेको टिप्पणी गरेका छन्।पुरुषले विचारका आधारमा कसैलाई खेद्ने र कसैलाई उचाल्ने प्रवृत्तिले अन्ततः पार्टीलाई नै नोक्सान पुग्ने चेतावनी दिएका छन्। उनले खुला बहसको आवश्यकता औंल्याउँदै “अरु विकल्प छन् भने छलफल गरौँ” भन्ने आह्वान समेत गरेका छन्।
राप्रपाभित्रको यो धारणा सार्वजनिक भएपछि पार्टीभित्र वैचारिक ध्रुवीकरण थप स्पष्ट हुने संकेत देखिएको छ।



