Aamsanchar

जेनजी आन्दोलनका घटना छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग

Author Image
सोमवार, चैत ९, २०८२

काठमाडौं –  नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जेनजी आन्दोलनका घटना छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । उनले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् सो माग गरेका हुन् ।

‘नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट समेत प्रतिवेदन सार्वजनिक गर्न माग गरिसकेको छ,’ पौडेलले लेखेका छन्, ‘म जाँदै गरेको यो सरकारलाई यथाशीघ्र प्रतिवेदन सार्वजनिक गरेर आफ्नो दायित्व पूरा गर्न फेरि पनि अनुरोध गर्दछु ।’ ८ चैतमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रतिवेदन सार्वजनिक गर्न माग गर्ने निर्णय गरेको थियो ।

गत भदौ २३ र २४ गते भएको जेनजी युवाहरुको आन्दोलनको क्रममा भएका घटना जाँचबुझ गरी गौरीबहादुर कार्की नेतृत्वको आयोगले यसै वर्षको फागुन २४ गते प्रतिवेदन सरकारलाई बुझाएको थियो । सोही दिन आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले  यो प्रतिवेदनले विगतका मल्लिक र रायमाझी आयोगको नियति नभोग्ने बताएका थिए ।

१ चैतमा बसेको मन्त्रिपरिषद बैठकले सो प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले ‘प्रतिवेदन भोलि आउँछ’ भने पनि हालसम्म सार्वजनिक गरिएको छैन । जेनजी आन्दोलन अगुवा र जवाफदेही निगरानी समूहले प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई दबाब दिँदै आएका छन् ।

‘गुपचुप राखिनु विडम्बना’

प्रतिवेदन सार्वजनिक गर्न माग उठ्दै आए पनि सार्वजनिक नहुने विडम्बना भएको कांग्रेस महामन्त्री पौडेलको भनाइ छ । अन्तरिम सरकारको समय सकिएको र जाने बेलासमेत प्रतिवेदन सार्वजनिक नगरेर सरकार आफ्नो कर्तव्यबाट विमुख भइरहेको बताउँदै पौडेलले भनेका छन्, ‘आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुबै हो । यसलाई यसअघिका आयोगहरूका प्रतिवेदनजस्तै गुपचुप राखिनु विडम्बना हो ।’

महामन्त्री पौडेलले सरकारलाई बुझाइसकेको छानबिन प्रतिवेदन अन्तरिम सरकारले सार्वजनिक नगर्दा अनेक आशंका जन्माएको पनि उल्लेख गरेका छन् । ‘कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुन विषयले रोक्यो, यो किन सार्वजनिक गरिँदैन? यक्ष प्रश्न खडा भएको छ,’ उनले लेखेका छन् ।

Views: 16

प्रतिक्रिया (०)

सम्बन्धित खबर