Aamsanchar

मदिरामा लठ्ठ आमा बनेकी ‘राक्षसी’, ६ वर्षीय छोरामाथि चक्कु–ब्लेडले यातना

Author Image
सोमवार, चैत ९, २०८२

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–५ मा मानवता नै लज्जित हुने गरी एक आमाले आफ्नै ६ वर्षीय नाबालक छोरामाथि गरेको क्रूर कुटपिटको घटना सार्वजनिक भएपछि क्षेत्र स्तब्ध बनेको छ ।
२५ वर्षीया सुमित्रा लामगादेले आफ्ना छोरा रुक्सन लामगादेमाथि निर्घात कुटपिट गर्नुका साथै चक्कु र ब्लेड प्रयोग गरेर पटक–पटक यातना दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो करिब ४ बजेतिर भएको उक्त घटनामा बालकको शरीरभरि निलडाम, चोटपटक र गहिरा घाउ देखिएको छ । बालकको पीडादायक अवस्थाबारे सुनगाभा बोर्डिङ स्कुल ले आइतबार बिहान इलाका प्रहरी कार्यालय बिर्तामोडलाई जानकारी गराएपछि घटना बाहिर आएको हो।

त्यसपछि प्रहरी र स्थानीय जनप्रतिनिधिको टोलीले बालकको उद्धार गरी तत्काल उपचारका लागि स्वास्थ्य संस्थामा पठाएको छ । हाल बालक हजुरबुबाको संरक्षणमा रहेको जनाइएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकी आमालाई नियन्त्रणमा लिएर क्षितिज सुधार केन्द्र मा राखिएको छ । प्रारम्भिक अनुसन्धानले देखाएको छ—मदिरा सेवनपछि उनी छोरामाथि पटक–पटक आक्रमण गर्ने गर्थिन्।
यो घटना केवल एक परिवारको त्रासदी मात्र होइन, समाजकै गम्भीर चेतावनी हो। नाबालकमाथि यस्ता अमानवीय व्यवहार हुनु राज्यको निगरानी, सामाजिक सचेतना र पारिवारिक उत्तरदायित्वमाथि गम्भीर प्रश्न हो।

बालअधिकारकर्मीहरू भन्छन—“घरभित्रै हुने हिंसा सबैभन्दा खतरनाक हुन्छ, किनकि पीडितले आवाज उठाउन सक्दैन।”
अब प्रश्न उठेको छ— के हाम्रो समाज अझै पनि यस्ता क्रूर घटनाहरूलाई ‘घरेलु विषय’ भन्दै बेवास्ता गरिरहनेछ, वा समयमै हस्तक्षेप गरेर निर्दोष बालबालिकाको जीवन जोगाउनेछ ?

Views: 95

प्रतिक्रिया (०)

सम्बन्धित खबर