

सर्लाही – पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–६ स्थित कालिन्जोर पुलमा आइतबार राति दुई वटा गाडीसँग ठोक्किँदा भारतीय नम्बर प्लेटको कारमा आगलागी भएको छ ।

राति करिब पौने ९ बजे बीआर ०१ पीएम ८८३३ नम्बरको कारमा आगलागी भएको हो । पूर्वबाट आउँदै गरेको उक्त कार मधेश प्रदेश ०४–००१ ख ०१५६ नम्बरको बसलाई पछाडिबाट ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ठक्करपछि कार चालकले सवारी ब्याक गरेर भाग्ने प्रयास गर्दा सोही दिशाबाट आइरहेको प्रदेश २–०२–००१ च ०११७ नम्बरको जिपमा ठोक्किँदा दुर्घटना थप जटिल बनेको थियो ।
दुर्घटनापछि कारमा आगलागी भई अघिल्लो भागमा क्षति पुगेको प्रहरीले जनाएको छ । कार घटनास्थलमै रहेको र नियन्त्रणमा लिएर कार्यालय ल्याउने तयारी भइरहेको छ । कार चालक भारत, बिहार राज्यका ५० वर्षीय शरद प्रकाश चौधरी, बस चालक महोत्तरीको बर्दिवास नगरपालिका–७ का ३१ वर्षीय किरण राई र पिकअप चालक सर्लाही हरिवन नगरपालिका–६ का करिब ३५ वर्षीय अजयकुमार महत्तोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनामा मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी सरोज राईले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


