Aamsanchar

३५ क्विन्टल पदमचालसहित चार जना पक्राउ

Author Image
सोमवार, चैत ९, २०८२

डोल्पा – हिमाली जिल्ला डोल्पामा अवैधरूपमा संकलन गरिएको ३५ क्विन्टल जडीबुटीसहित चार जना पक्राउ परेका छन् ।

जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका-१ त्रिपुराकोट स्थित बगर बजारमा सोमबार बिहान ३ बजे तिर अवैध रूपमा संकलन गरिएको ठूलो परिमाणको जडीबुटीसहित चार जना व्यक्तिलाई नियन्त्रणमा लिएको शे(फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालयले जानकारी दिएको छ ।

 

निकुञ्जका अनुसार त्रिपुराकोट बगर बजारमा निकुञ्जको सुरक्षार्थको लागि खटिएको नेपाली सेनाको संग्राम शार्दुल गुल्म र निकुञ्जका सिनियर गेमस्काउट सहितको संयुक्त टोलीले छापा मार्दै १०१ बोरा भित्रको ३५ क्विन्टल अवैध पदमचाल जडीबुटी सहित दुईवटा ट्याक्टर नियन्त्रमा लिएको निकुञ्जले जनाएको छ ।

अवैध जडीबुटी सहित त्रिपुरासुन्दरी–५ का ३६ वर्षीय नरेश बुढा, सल्यान कुमाख गाउँपालिका–४ का २५ वर्षीय एलिश बुढा(चालक), रुकुम पश्चिम आठबिस नगरपालिका–७ का ४८ वर्षीय कृष्ण विक (चालक) तथा त्रिपुरासुन्दरी–५ का ३३ वर्षीय विकास रोकायालाई पक्राउ गरिएको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि दोहोरो भरपाइसहित निकुञ्ज प्रशासन कार्यालयमा बुझाइएको श्री संग्राम सार्दुल गुल्मका सेनानी हरिश शाहीले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिहरूलाई स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल दुनै लगिएको र हाल बरामद जडीबुटी निकुञ्जको नियन्त्रणमा रहेको जनाइएको छ।

शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका सहायक संरक्षण अधिकृत विज्ञान सेनका अनुसार निकुञ्ज क्षेत्रबाट अनुमति नलिई जडीबुटी संकलन गरी रातारात जिल्ला बाहिर निकासी गर्न लागिएको सूचनाका आधारमा संयुक्त गस्ती परिचालन गरिएको थियो।

पछिल्लो समय डोल्पामा जटामसी (भुल्ते) संकलनमा प्रतिबन्ध लगाइएको र पदमचालको हकमा समेत कार्ययोजना अध्ययनपछि मात्र उपयुक्त क्षेत्र पहिचान गरी अनुमति दिइने व्यवस्था रहेको उनले बताए ।

Views: 26

प्रतिक्रिया (०)

सम्बन्धित खबर