Aamsanchar

मुख्य सिजनमै पोखरामा किन घटे पर्यटक ?

Author Image
मङ्गलवार, चैत १०, २०८२

काठमाडौं – मध्यपूर्वमा जारी तनावका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घटेको छ ।

खासगरी युरोप र अमेरिकाबाट आउने पर्यटकको मुख्य ट्रान्जिट दुबई, कतार र साउदी अरेबिया युद्धबाट प्रभावित हुँदा पर्यटक आगमन प्रभावित भएको हो ।

पोखरा आउने पर्यटकहरुले धमाधम होटल, ट्राभल र टे«किङ बुकिङ रद्ध गरिरहेको पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराईले जानकारी दिए । मध्यपूर्वको तनावका कारण युरोप र अमेरिकाबाट आउने पर्यटकहरु आउन नसकेको बताउँदै उनले भने, ‘मध्यपूर्वमा बढेको तनावले नेपालको पर्यटन क्षेत्र समेत प्रभावित भएको छ ।’

नेपाल आउने प्रायजसो पर्यटकले कतार, दुवई लगायतका क्षेत्र नै ट्रान्जिट बनाएर आउने भएको कारण अहिले समस्या भएको उनको भनाइ छ । युद्धको कारण ग्याँस र इन्धन अभावले पनि समस्यामा परेको उनले बताए ।

यसैगरी होटल एशोसिएशन पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले अन्नपूर्ण पदयात्राको दोस्रो ठूलो सिजनमा समेत अपेक्षाकृत पर्यटकहरु नआएको बताए ।

‘अन्नपूर्ण पदयात्रामा जाने दोस्रो ठुलो सिजन मार्च, अप्रिल, मे महिनामा हो भनेर हामी लिन्छौँ । तर अहिले मध्यपूर्वको जुन अवस्था छ त्यसले गर्दा नेपालमा आउने धेरै युरोपियन पर्यटकहरु जो नेपालमा पदयात्राका लागि आउनुहुन्छ उहाँहरु आउन सक्नुभएको छैन,’ उनले भने ।

उनले थपे, ‘अमेरिकाले पनि आफ्ना नागरिकलाई अहिले नेपालमा असुरक्षा छ भन्ने खालको एड्भाइजरी जारी गरेको कारणले अमेरिकन पर्यटकहरु एकदमै न्युन र युरोपियन पर्यटकहरु पनि सोचेजस्ता संख्यामा आउन सकिरहनुभएको छैन ।’

भारतीय र आन्तरिक पर्यटकको आगमन भने विगतको जस्तै राम्रो भएको उनले जानकारी दिए ।

पर्यटक व्यवसायी नेत्र पौडेलले इजरायल, अमेरिका र इरान बीचको युद्धका कारण पोखरामा पर्यटकीय गतिविधिका लागि हुने अग्रिम बुकिङहरु रद्ध भइरहेको बताए । ‘पछिल्लो समय इजरायल, अमेरिका र इरानबीच भइरहेको लडाईंका कारण पोखरामा टे«किङ लगायतका लागि भएका बुकिङहरु धमाधम रद्ध हुने कार्य जारी छ । त्यसकारण हाम्रा होटल, ट्राभल र टे«किङका बुकिङहरु पनि रद्द हुने क्रम बढेको देखिन्छ । समग्रमा जुन किसिमले यो समयमा पर्यटकहरु हुनुपर्ने हो त्यो किसिमले आएका छैनन्,’ पौडेलले भने ।

Views: 13

प्रतिक्रिया (०)

सम्बन्धित खबर