Aamsanchar

पाटेनागी डाँडाः सूर्योदय, हिमाल र गुराँसले सजिएको नयाँ पर्यटकीय गन्तव्य

Author Image
मङ्गलवार, चैत १०, २०८२

फोटो: बिनोद पाण्डे/आमसंचार

इलाम । इलाम नगरपालिका–३ पुवामझुवा र पाँचथरको सिमानामा अवस्थित पाटेनागी डाँडा पछिल्लो समय उदाउँदो पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। करिब तीन हजार मिटर उचाइमा रहेको यस डाँडाबाट चाँदीझैं टल्किएका हिमालसँगै मनमोहक सूर्योदय र सूर्यास्त अवलोकन गर्न सकिन्छ।

यस स्थानबाट सगरमाथा, कञ्चनजङ्घा लगायतका हिमश्रृंखला स्पष्ट देखिने भएकाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दो छ। शान्त वातावरण, चिसो हावा र हरियाली जंगलले यहाँ पुग्नेहरूलाई प्रफुल्लित बनाउने गरेको छ।

पाटेनागी क्षेत्र जैविक विविधताले समेत धनी मानिन्छ। यहाँ दुर्लभ रेडपाण्डा (हाब्रे), ध्वाँसे चितुवा, सालक, कालो भालु, मुनाललगायतका वन्यजन्तु तथा चराचुरुङ्गी पाइन्छन्। त्यस्तै, गुराँस, सुनाखरीदेखि विभिन्न जडिबुटीसम्मका सयौं प्रजाति यहाँ भेटिन्छन्। चैत–वैशाखमा गुराँस फुल्दा डाँडाभरि राताम्ये दृश्यले पर्यटकलाई झनै लोभ्याउने गरेको छ।

पाटेनागी आसपास कुहिभिर, नागढुङ्गाजस्ता रमणीय स्थल पनि रहेका छन्। ऐतिहासिक रूपमा मेची राजमार्ग सञ्चालनमा आउनुअघि पाँचथर र ताप्लेजुङ जाने बाटो यही क्षेत्रबाट हुने गरेको स्थानीय बताउँछन्।

इलाम सदरमुकामबाट करिब ४० किलोमिटर दूरीमा रहेको यस स्थानमा बागखोर बजारबाट करिब ६ किलोमिटर कच्ची सडक हुँदै पुग्न सकिन्छ भने पदमार्गबाट पनि यात्रा गर्न सकिने व्यवस्था छ।

नगरपालिकाले पाटेनागीलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको जनाएको छ। सन्दकपुर क्षेत्रको हाराहारीमा रहेको यस डाँडालाई व्यवस्थित रूपमा विकास गर्न सके पूर्वी नेपालको उत्कृष्ट पर्यटन गन्तव्य बन्ने विश्वास गरिएको छ।

Views: 9

प्रतिक्रिया (०)

सम्बन्धित खबर