Aamsanchar

पाँचथर र ताप्लेजुङमा निर्माणाधीन दुई वटा पुल भाँचिए

Author Image
बुधवार, चैत ११, २०८२

पाँचथर –  पाँचथर र ताप्लेजुङमा निर्माणाधीन दुई वटा पुल बाढीले भत्काएको छ । पाँचथरको याङ्बरक गाउँपालिका–२ को मेवाखोलामा र ताप्लेजुङको नेरुवा खोलामा बन्दै गरेका पुल गएरातिको बाढीले भत्काएको हो ।

बाढी आएर खोलाको सतह गहिरो बनाएर टेका र फर्मा ढलेपछि पुल भाँचिएको प्राविधिकहरुको भनाइ छ ।

पाँचथरको मेवाखोलामा ४० मिटर लामो पुल बन्दै थियो । दुई वर्ष अगाडि पुल बगाएपछि नयाँ पुल बनाउने काम अघि बढेको थियो ।

मेवाखोलामा ९० प्रतिशत काम सपन्न भइसकेको पुल भाँचिएको मध्यपहाडी लोकमार्ग फिदिम आयोजना कार्यालयका प्रमुख सञ्जय मिश्रले जानकारी दिए । ७ करोड ७६ लाख रुपैयाँमा सरोज निर्माण सेवाले पुल निर्माणको ठेक्का लिएको थियो ।

‘चैत–२ गते ढलान भएको थियो, प्राकृतिक प्रकोपले पुल भाँचिदियो,’ मिश्रले भने । मेवा खोलामा पुल नहुँदा उत्तरी च्याङ्थापु, फलैचाबासिले सास्ती खेप्दै आएका छन् ।

यसैगरी ताप्लेजुङको नेरुवा खोलामा ३५ मिटर लामो पुल भाँचिएको पूर्वाधार कार्यालय ताप्लेजुङका प्रमुख कुमार कर्णले बताए । उनका अनुसार यहाँ पनि काम अन्तिम चरणमा पुगेको थियो । राति बाढी आएर सपोर्टलाई क्षति गर्दा पुल भाँचिएको उनको भनाइ छ ।

‘ढलानको २८ दिनपछि रड तन्काउनु पर्ने हुन्छ । त्यो गर्न नपाई बाढी बाढीले पुल भाँचियो’, कर्णले भने, ‘नत्र केही हप्ता पछि गाडी कुदाउन मिल्ने थियो ।’

७ करोड ४७ लाख रुपैयाँमा ठेक्का लिएर पुल निर्माणको काम सञ्जिव निर्माण सेवाले गर्दै थियो ।

Views: 16

प्रतिक्रिया (०)

सम्बन्धित खबर