Aamsanchar

१९ वर्षीया युवतीलाई अपहरण गरी बलात्कार र लुटपाट गर्ने सफारी चालक पक्राउ

Author Image
बुधवार, चैत ११, २०८२

सुनसरी – सुनसरीको धरान उपमहानगरपालिकामा किशोरीलाई अपहरण गरी बलात्कार र लुटपाटको आरोपमा सिटी सफारी चालक पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईका अनुसार चैत ६ गते बेलुका धरान उपमहानगरपालिका–५ घर भई हाल मोरङको सुन्दर हरैचा नगरपालिका–७ गोठगाउँस्थित मावली घर बस्दै आएकी १९ वर्षीया युवतीलाई अपहरण गरी बलात्कार र लुटपाट गर्ने सफारी चालक पक्राउ परेका हुन् ।

किशोरी मावलाबाट धरान घरमा आफ्नो पुरानो कपडा लिन आएकी थिइन् । कपडा लिन घर फर्किने क्रममा भोटेपुलमा बसको प्रतीक्षामा बसिरहेको बेला एक अपरिचित व्यक्तिले सिटी सफारीमा चढ्न आग्रह गर्दै उनलाई लिएर गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी राईले बताए । सफारी चालकले उनलाई एकान्त स्थानमा लगी कुटपिट गरी बेहोस बनाएको र मोबाइल समेत लुटेर फरार भएको प्रहरीले जनाएको छ ।

 

घटनापछि प्रहरी नायव उपरीक्षक भीषणबाबु राईको कमाण्डमा खटिएको टोलीले घटनास्थल आसपासका सीसीटीभी फुटेजको सूक्ष्म अध्ययन गर्दा प्रयोग भएको सिटी सफारीको नम्बर खुल्न आएको थियो । अनुसन्धानका क्रममा सफारी चालक सुनसरीको रामधुनी नगरपालिका–२ परिसापुर बस्ने २६ वर्षीय रोशन विश्वकर्मा रहेको पहिचान भएपछि उनलाई मंगलबार आफ्नै घरबाट पक्राउ गरिएको छ ।

पीडितले आरोपितलाई सनाखत गर्दै दिएको किटानी जाहेरीका आधारमा उनले साकेला पार्क नजिकको एकान्त जंगलमा लगी हात बाँधेर कुटपिट गर्नुका साथै जबरजस्ती करणी गरी मोबाइल समेत लुटेको उल्लेख गरिएको छ । घटनामा संलग्न विश्वकर्माविरुद्ध जबरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको डिएसपी राईले जानकारी दिए ।

Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर