

दमक – झापा जिल्लाको दमक नगरपालिका–१० स्थित एक ठूलो कुखुरा फार्ममा बर्डफ्लुको संक्रमण पुष्टि भएपछि करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ। यस घटनाले स्थानीय कुखुरापालक किसानहरूमा गम्भीर चिन्ता थपेको छ।

दमक एग्रिकल्चर फार्मका सञ्चालक देवेन्द्र प्रशाईका अनुसार करिब २० हजार लेयर्स कुखुरा नष्ट गर्नुपर्यो।
साथै, अण्डा, दाना चारो र फार्मका अन्य संरचनात्मक सामग्रीसमेत नष्ट भएपछि क्षति तीन करोड रुपियाँभन्दा बढी पुगेको छ। यसले १५ जना मजदुरलाई बेरोजगार बनाएको छ।

यो फार्म झापाकै ठूला र व्यवस्थित कुखुरा पालन केन्द्रमध्ये एक मानिन्थ्यो। आधुनिक प्रविधि र नियमित व्यवस्थापनका कारण यसले स्थानीय बजारमा महत्वपूर्ण योगदान दिँदै आएको थियो। तर, एक्कासी कुखुरा मर्न थालेपछि गरिएको परीक्षणमा बर्डफ्लुको संक्रमण देखिएपछि चार दिनमै फार्म शून्य अवस्थामा पुग्यो।
सरकारी मापदण्डअनुसार संक्रमण फैलिन नदिन सम्पूर्ण कुखुरा र सम्बन्धित सामग्री नष्ट गर्नुपरेको प्रशाईले बताए। यस प्रक्रियामा हजारौँ जीवित कुखुरा मारिएका, तयार अण्डा फालिएका र चारोसमेत नष्ट भएको छ।
फार्म सञ्चालक प्रशाईका अनुसार व्यवसाय बैंक ऋण र आफन्त तथा साथीभाइको सहयोगमा सुरु गरिएको थियो। अब बैंकको ऋण तिर्न र व्यवसाय फेरि सञ्चालन गर्न कठिन भएको उहाँले बताउनुभयो। बिमा भए तापनि बर्डफ्लुमा दाबी नहुने प्रावधानले बिमाबाट क्षतिपूर्ति पाउन पनि समस्या छ।


