Aamsanchar

तथाकथित बाम एकताको “हतारो’’ हतास मानसिकताको उपज : सिपी कडरिया

Author Image
बिहिवार, चैत १२, २०८२

बिर्तामोड । नेपाली कम्युनिष्ट आन्दोलनभित्र फेरि उठेको ‘बाम एकता’ बहसप्रति कडा टिप्पणी गर्दै बामपन्थी युवा नेता सिपी कडरिया ले यसलाई “हतास मानसिकताको उपज” भनेका छन्। उनले पछिल्लो राजनीतिक परिस्थितिमा हतारोमा गरिने एकता “बोकाको मुखमा कुभिन्डो” जस्तै अस्वाभाविक र दीर्घकालीन रूपमा हानिकारक हुने चेतावनी दिएका छन्।

कडरियाले एकतालाई सिद्धान्ततः सकारात्मक मान्दै पनि अहिलेको बहस मूल प्रश्नबाट विचलित भएको बताए। उनका अनुसार समस्या एकता वा दस्तावेजको होइन, बदलिँदो राजनीतिक–सामाजिक परिस्थितिअनुसार आफूलाई रूपान्तरण गर्न नसक्नु हो। “जनताको अपेक्षाअनुसार समयमै डेलिभरी दिन नसक्दा कम्युनिष्ट शक्तिहरू कमजोर बनेका हुन्,” उनले उल्लेख गरेका छन्।

उनले विगतका उदाहरण स्मरण गराउँदै एकताले मात्रै शक्ति बढाउने धारणा भ्रमपूर्ण भएको जिकिर गरे। “एकतापछि पनि जनमत घटेको यथार्थ ताजै छ । संगठन सुदृढीकरणभन्दा हतारोमा गरिएको एकताले उल्टै क्षति पु¥याएको छ,” कडरियाको भनाइ छ ।

कडरियाले कम्युनिष्टहरू नयाँ सामाजिक अन्तरविरोध बुझ्न र त्यसअनुसार आफूलाई ढाल्न असफल भएको आरोप लगाए। “जनतालाई समाजवादको नारा दिएर मात्र समाजवाद आउँदैन,” उनले भने, “आफूभित्र रूपान्तरण नगर्ने हो भने आन्दोलन डाइनोसर बन्ने खतरा छ।”

उनका अनुसार अहिलेको आवश्यकता तथाकथित एकता होइन, बरु आफ्नै संगठनको पुनर्संरचना र सुदृढीकरण हो। “पहिलो काम आफ्नै पंक्तिको पहिचान, सुदृढीकरण र शुद्धीकरण हो। दोस्रो, जिम्मेवार र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नु हो,” उनले सुझाए।

अन्त्यमा उनले स्पष्ट चेतावनी दिए—“यी आधारभूत काम छोडेर हतारोमा गरिने बाम एकता आफैंप्रति गैरजिम्मेवार कदम मात्र हुनेछ।”

Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर