Aamsanchar

नशालु पदार्थ सेवन गरी सवारी साधन चलाउने ५ जना चालक नियन्त्रणमा

Author Image
शुक्रवार, चैत १३, २०८२

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित अरनिको राजमार्गमा लागुऔषध तथा नशालु पदार्थ सेवन गरी सवारी साधन चलाउने ५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार दिउँसो बनेपा नगरपालिका वडा नं। ८ जनागलमा गरिएको विशेष जाँच (चेकजाँच) का क्रममा यात्रुवाहक बस र पानी ट्याङ्करका चालकहरू लागुपदार्थ सेवन गरेको अवस्थामा भेटिएका हुन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र इलाका प्रहरी कार्यालय बनेपाको संयुक्त टोलीले शिर मेमोरियल अस्पतालका प्राविधिकहरूको सहयोगमा ड्रग्स किट्समार्फत चालकहरूको पिसाब परीक्षण गरेको थियो। प्रहरीले शंकास्पद ३९ वटा सवारी साधनका चालकहरूलाई रोकेर परीक्षण गर्दा ५ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो।

पक्राउ पर्नेहरूमा महानगर बसका चालक २६ वर्षीय समिर तामाङ र २० वर्षीय रोहित घतानी विश्वकर्मा, पुण्यवती यातायातका ३८ वर्षीय समिर महत, मयुर यातायातका ३२ वर्षीय महेश चौधरी र पानी ट्याङ्करका चालक २६ वर्षीय सुगम भुजेल रहेका छन्। उनीहरूले सार्वजनिक सडकमा सयौँ यात्रुको ज्यान जोखिममा राखेर नशालु पदार्थको नसामा गाडी गुडाएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार लागुऔषध सेवन गरी सवारी चलाउने गरेको गोप्य सूचनाका आधारमा यो अप्रेसन चलाइएको हो। पक्राउ परेका चालकहरूलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बनेपामा राखिएको छ।

 

Views: 23

प्रतिक्रिया (०)

सम्बन्धित खबर