Aamsanchar

झापा, मोरङ र सुनसरीमा पचपन्न हजारभन्दा बढी पन्छी नष्ट गरियो

Author Image
शुक्रवार, चैत १३, २०८२

झापा- कोशी प्रदेशको पोल्ट्री व्यवसाय बर्डफ्लु सङ्क्रमणका कारण थप धराशायी बनेको छ । झापा, मोरङ र सुनसरीका १३ वटा पोल्ट्री फार्ममा बर्डफ्लु पुष्टि भएपछि सङ्क्रमण नियन्त्रणका लागि ठुलो परिमाणमा कुखुरा, हाँस, अन्डा र दाना नष्ट गरिएको छ । सरकारी निकायले सङ्क्रमण थप फैलिन सक्ने आकलनसहित निगरानी र ‘¥यापिड रेस्पोन्स टिम’ परिचालन गरिरहेको छ तर सङ्क्रमण नियन्त्रणमा भने आइसकेको छैन ।

कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार मोरङको सुन्दरहरैँचा र उर्लाबारीबाट सुरु भएको सङ्क्रमण अहिले झापाको दमक, सुनसरीको इटहरी र गढी गाउँपालिकासम्म पुगिसकेको छ । मन्त्रालयकी पशुपन्छी विकास महाशाखाकी वरिष्ठ पशु चिकित्सक डा। दीपा दिवालीका अनुसार हालसम्म १२ वटा फार्मका ५३ हजार ९९० लेयर्स कुखुरा, ५५० ब्रोइलर र स्थानीय जातका ६०६ कुखुरा नष्ट गरिएको छ । यसका साथै एक लाख नौ हजार ४२१ अन्डा र सङ्क्रमण फैलाउन सक्ने १७ हजार ३५० केजी दानासमेत सुरक्षित तरिकाले नष्ट गरिएको छ । उर्लाबारीको एउटा फार्ममा रहेका सात वटा हाँससमेत मारिएको छ ।

अहिलेसम्मको विवरण अनुसार मोरङको उर्लाबारी र झापाको दमक क्षेत्र सबैभन्दा बढी प्रभावित देखिएको छ । उर्लाबारी–८ स्थित अठियाबारी कृषि फार्ममा मात्रै १८ हजार लेयर्स कुखुरा नष्ट गरिएको छ भने दमकका दुई ठुला फार्ममा क्रमशः १५ हजार र १३ हजार कुखुरा नष्ट गरिएको छ । डा। दिवालीका अनुसार करिब एक महिनाअघि नै कुखुरा मर्न थाले पनि सुरुमा ‘लो प्याथोजेनिक’ देखिएकोमा हाल ‘हाई प्याथोजेनिक’ अर्थात् बर्डफ्लु पुष्टि भएको हो । २०७८ सालपछिकै यो ठुलो सङ्क्रमण भएको विज्ञको भनाइ छ ।

बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका सामग्रीको आर्थिक क्षतिको प्रारम्भिक अनुमान गर्दा साढे दुई करोड रुपियाँभन्दा बढी देखिन्छ । विगतमा २०७८ सालमा सरकारले निर्धारण गरेको राहतको दररेटलाई आधार मान्ने हो भने लेयर्स कुखुराको उमेर अनुसार प्रतिगोटा एक सयदेखि पाँच सय रुपियाँसम्म, ब्रोइलर कुखुराको प्रतिगोटा एक सयदेखि तीन सय रुपियाँसम्म, प्यारेन्ट कुखुराको ४५० देखि एक हजार ४२५ रुपियाँसम्म, स्थानीय जातका कुखुरा तथा हाँसको दुई सयदेखि चार सय रुपियाँसम्म राहत दिने व्यवस्था छ । त्यस्तै चल्ला प्रतिगोटा २० देखि ६० रुपियाँसम्म, खानयोग्य अन्डाको पाँचदेखि १० र ह्याचिङ अन्डाको १५ देखि ४५ रुपियाँसम्म तथा दानाको प्रतिकेजी ३० देखि ६० रुपियाँसम्म राहत दिने व्यवस्था छ । सोही दरका आधारमा गणना गर्दा लेयर्स कुखुरा नष्ट हुँदा एक करोड ६२ लाख, ब्रोइलरमा एक लाख १० हजार, स्थानीय कुखुरा र हाँसमा एक लाख ८४ हजार, अन्डामा १० लाख ९४ हजार र दानामा ८६ लाख ५० हजार गरी दुई करोड ६२ लाख रुपियाँभन्दा बढी राहत किसानलाई दिनुपर्ने अवस्था छ । पछिल्ला वर्ष वस्तुको मूल्यवृद्धि भएर दररेट नै बढ्न सक्ने भएकाले क्षति रकम थप बढ्न सक्छ । यसबाहेक अहिले पनि रोग नियन्त्रणमा नआएको र नयाँ नयाँ ठाउँमा सङ्क्रमण फैलिँदै गएका कारण यो क्षति अझ बढ्न सक्ने पनि देखिएको छ ।

सङ्क्रमण नियन्त्रण गर्न कुखुराको अवैध ओसारपसार मुख्य चुनौती बनेको छ । किसानले घाटा कम गर्न मर्न थालेका कुखुरा सस्तोमा बजार पठाउँदा रोग पहाडी जिल्लासम्म पुग्ने जोखिम छ । लेयर्स कुखुरापालक सङ्घ मोरङ–सुनसरीका अध्यक्ष होम बाँस्कोटाले लाखौँ ऋण लिएर चलाइएका फार्म सखाप हुँदा व्यवसायी सडकमा पुग्ने अवस्था आएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले पशुसेवा विज्ञ केन्द्रले क्षतिको मूल्याङ्कन गरेपछि सङ्घीय सरकारको नियमावलीबमोजिम दररेट निर्धारण गर्ने र राहतको प्रक्रिया कानुनबमोजिम अघि बढ्ने बताउनुभयो ।

Views: 13

प्रतिक्रिया (०)

सम्बन्धित खबर