

बनेपा – सामान्यतया कुनै पनि पार्टीका कार्यकर्ताले आफ्ना नेताविरुद्ध नाराबाजी गर्दैनन् । अझ आफ्नै नेतालाई ‘मुर्दावाद’ त भन्दै भनिँदैन ।

तर, शनिबार (चैत १४) यस्तै भएको छ । काभ्रेको बनेपामा प्रदर्शनका क्रममा एमाले कार्यकर्ताले भुलवश ‘केपी ओली मुर्दावाद’ भनेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको विरोधमा कार्यकर्ता बनेपामा प्रदर्शनमा उत्रिएका थिए । उनीहरूले सरकारको विरोधमा नारा लगाइरहेका थिए । त्यहीक्रममा उनीहरू झुक्किएका हुन् ।

नारा लगाउने कार्यको अगुवाइ गरिरहेका एक व्यक्तिले तीनपटकसम्म ‘प्रतिशोधको राजनीति…’ भने । अरू कार्यकर्ताले ‘…बन्द गर्’ भने । अनि, उनले ‘केपी ओली…’ भने । त्यसपछि नारा लगाउने केही कार्यकर्ताले झुक्किएर ‘मुर्दावाद’ भने । त्योसँगै नारा लगाइरहेकाहरू गलल हाँसे ।
त्यसपछि सुरुमा नारा लगाउनेले फेरि ‘केपी ओली…’ भने । अनि, अरू कार्यकर्ताले ‘जिन्दाबाद’ भनेर उनलाई साथ दिए ।
यहाँ ‘केपी ओली मुर्दावाद’ भनिएको कुनै विरोधमा नभई भुलवश भएको थियो ।


