

काठमाडौं – जेनजी आन्दोलन दमनको आरोपमा पक्राउ परेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तीन दिनदेखि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन्।

अनुसन्धानका लागि प्रहरीले शनिबार बिहानै बालकोटस्थित निवासबाटै नियन्त्रणमा लिएपछि उनलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगेको थियो। परीक्षणका क्रममा चिकित्सकहरुले विभिन्न स्वास्थ्य समस्या देखिएको भन्दै भर्ना गर्न सल्लाह दिएपछि उनी अस्पतालमै छन्।
मुटुको चाल गडबड भए पछि लगाइयो ‘हल्टर मोनिटर’

अस्पताल स्रोतका अनुसार दुई पटकसम्म मिर्गौला प्रत्यारोपण गराएका ओलीको मुटुको चालमा गडबडी देखिएको छ । चिकित्सकहरुले उनको मुटुको चाललगायतका गतिविधि निरीक्षण गर्न ‘हल्टर मोनिटर’ लगाईदिएका छन्।
शनिबार बेलुकीबाटै मुटुको चाल हेर्न ‘हल्टर मोनिटर’ लगाइएको हो।
अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले परीक्षणका क्रममा मुटुको चालमा केही गडबडीजस्तो देखिएपछि चिकित्सकले उनको मुटुको गतिविधि हेर्न हल्टर मोनिटर लगाएको बताए ।
उनले भने, ‘उहाँको शरीरमा हल्टर मोनिटर फिट गरिएको छ। मुटु जाँचका लागि सँगै रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्डियोलोजिष्टहरुले हेर्नु भएको छ’
मुटुको गतिविधिका लागि लगाईने हल्टर मोनिटर कम्तिमा २४ देखि ४८ घण्टा राख्ने गरिन्छ ।
पित्तथैलीमा पनि देखियो पत्थरी
मुटुको चालमा गडबडी मात्रै होइन ओलीलाई पित्तथैलीमा पत्थरीसमेत देखिएको छ। यसबाहेक ओलीमा मिर्गौलासम्बन्धी समस्या, मधुमेह, उच्च रक्तचाप, थाइराइड ग्रन्थीको समस्या पनि देखिएको चिकित्सकहरुले बताएका छन्।
पित्तथैलीमा पत्थरी देखिएपछि ओलीले चिकित्सकहरुसँग शल्यक्रिया गर्ने चाहना व्यक्त गरेका छन्। तर दुई पटक मिर्गौला प्रत्यारोपण गरेका ओली स्वास्थ्यको हिसावले निकै संवेदनशिल बिरामी भएकाले चिकित्सकहरुले पित्तथैलीको शल्यक्रियाका लागि केही निर्णय दिएका छैनन्।
अस्पतालका सूचना अधिकारी रोस्याराले भने ‘मुटुको चालमा गडबडी देखिएपछि चिकित्सकहरुले ‘हल्टर’ मोनिटरिङ गरी रहनु भएको छ,यसको रिपोर्ट आएपछि मात्रै थप उपचारको योजना हुन्छ’।
२०७६ साल कात्तिकमा पनि ओलीलाई एपेन्डिसाइटिस फुटेर पेटमा संक्रमण भएपछि चिकित्सकहरुले जोखिम मोलेर शल्यक्रिया गरेका थिए। त्यसबेला उपचारमा संलग्न चिकित्सकहरुका अनुसार ओली एकदमै जटिल स्वास्थ्य अवस्थाबाट गुज्रिएका भए पनि चिकित्सकहरुको अथक प्रयासले पूर्ण स्वास्थ्यलाभ गरेका थिए।
०७६ फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा नै ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। दोस्रो पटकको मिर्गौला प्रत्यारोपण सफल भए पनि बढ्दो उमेर र प्रत्यारोपण गरेका विरामीहरुमा छिट्टै संक्रमणको जोखिम हुने भन्दै सोही समय उच्च सतर्कता अपनाउन उनलाई चिकित्सकहरुले सुझाएका थिए।


