

क्षेत्रीय सुरक्षा चुनौती बढ्दै गइरहेका बेला जापानले पहिलोपटक लामो दूरीको मिसाइल तैनाथ गर्दै आफ्नो रक्षा रणनीतिमा महत्त्वपूर्ण मोड ल्याएको छ।

अधिकारीहरूका अनुसार दक्षिणपश्चिमी क्षेत्रमा अवस्थित कुमामोटो प्रान्तको क्याम्प केङ्गुनमा अपग्रेड गरिएको टाइप–१२ ल्यान्ड–टु–शिप मिसाइल सञ्चालनमा ल्याइएको हो, जसले देशको आक्रामक क्षमतामा उल्लेखनीय विस्तार गरेको सङ्केत दिएको छ।
जापानको मित्सुबिशी हेभी इन्डस्ट्रिजद्वारा विकसित उक्त मिसाइलको दायरा करिब एक हजार किलोमिटर पुगेको छ। यो यसको पुरानो २०० किलोमिटर क्षमताभन्दा निकै ठूलो विस्तार हो। यसले जापानलाई टाढाबाटै सम्भावित शत्रुका सैन्य आधारमा प्रहार गर्न सक्ने ‘स्ट्यान्डअफ’ क्षमता प्रदान गरेको छ।

यस्तो क्षमता जापानले दशकौँदेखि पालन गर्दै आएको आत्मरक्षा–केन्द्रित सुरक्षा नीतिमा परिवर्तनको सङ्केतका रूपमा हेरिएको छ।


